पोखराः चारैतिर पानीले घेरिएको छ । मन्दिर पुग्न नाउ खियाउनु पर्छ । एकातर्फ साहसिक यात्रा । अर्कोतर्फ धार्मिक उद्देश्य । आहा साँच्चिकै गज्जब हुन्छ पोखराको ताल बाराही मन्दिरको तीर्थाटन । 

फेवाताल आफैमा गन्तव्य हो । २३.३० मिटर गहिराई र ४.४६ किलोमिटर लम्बाइ तथा २ किलोमिटर चौडाइको नेपालको पर्यटकीय ताल हो फेवाताल । त्यही तालको एक धेरै पुरानो मन्दिर हो ताल बाराही भगवतीको मन्दिर । 

यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो  भने विसं १८६८ बाट नृत्य पूजाआजा सुरु भएको हो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन राजा महेन्द्रले विसं २०१७ मा सुरु गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ सालमा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । 

यस्तो छ ताल बाराही भगवती मन्दिरको किम्बदन्ती र कथा 

परापूर्व कालमा फेवाताल भएको ठाउँमा बस्ती थियो । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकोमा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते ।

घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने– ‘यो गाउँ चाडै जलमग्न हुनेछ । तपाइ भने अग्लो ठाउँमा चाडै जानु ।’ जोगी हिँडेको केही समय लगत्तै स्वाँ... आवाज आयो । स्वाँ... सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाह अनुसार वृद्धा  अग्लो ठाउँमा गएर बाचिन । उनको मृत्युपछि विसं १४६७ मा घरको झुप्रोमा मूर्ति स्थापना गरे ।

फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । उनले सपना अनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाए । र, क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो