भोजपुर / नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि ३ गतेसम्म टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा चखेवा बजार तथा सहरीकरण ब्यवस्थापन समितिको आयोजनामा पर्यटकीय स्थल चखेवामा हुन गईरहेको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसर पारेर भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस २०२४ सञ्चालन हुने भएको छ । 

टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा रिमाचुङ स्र्पोटस एण्ड एकेडेमी संस्थाको आयोजनामा भोजपुरको बाघखोर देखि चखेवा सम्म ४० किलोमिटर ट्रेल रेस प्रतियोगिता आगामी बैशाख ३ हुने भएको हो ।

रेस भोजपुर नगरपालिका- ४ बाघ खोर बाट सुरु भई टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्जयांगमा समापन हुनेछ । प्रतियोगिता चखेवा, टेम्केडाडाँ, मुन्दुम ट्रेल रेस क्षेत्रलाई धार्मिक, सास्कृतीक तथा पर्यटकीय क्षेत्रमा देश, विदेश सहित विश्वमाझ चिनाई उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष पाविहाङ राईले जानकारी दिए ।

प्रतियोगितामा आर्मी सहित १० जिल्लाका खेलाडीहरू खुल्ला पुरुष तर्फ ९९ जना, खुल्ला महिला ३६ जना र ४० प्लस पुरुष तर्फ १२ जना, महिला ३ जना गरी कुल  १५० जना खेलाडीहरू सहभागी हुने भएका छन् ।

रेसमा महिला तथा पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप, दोस्रो रनर अप र चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद रु ३५ हजार, २५ हजार, १५ हजार र ५ हजार प्रदान गरिने छ ।  भ्याट्रन महिला, पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५ हजार, ८ हजार, ५ हजार नगद सहित विजयी सबैलाई प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने आयोजक संस्थाका सचिव संग्राम राईले जानकारी दिए ।भोजपुरको बाघखोर देखि चखेवा सम्म ४० किलोमिटर मुन्धुम ट्रेल रेस प्रतियोगिता हुने , पुरस्कार समेत दिने

यसअघि सञ्चालित संस्करणका खेलाडीहरू उमेश राई, प्रतिभा श्रेष्ठ, हिरामान तामाङ, राम बहादुर गुरुङ लगायत अन्य खेलाडीहरूले देशका विभिन्न क्षेत्रमा सञ्चालन हुने रेस प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

मुन्धुम ट्रेल रेस सँगै चखेवामा बैशाख १ गते र २ गते टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा चखेवा बजार तथा सहरीकरण ब्यवस्थापन समितिको आयोजनामा पर्यटकीय स्थल चखेवामा हुन गईरहेको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको छ ।

महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र ,स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो गाउँपालिकामा पर्यटन प्रबद्र्धनका लागि मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले सन् २०२५ अर्थात आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमण २०२५ को आयोजना गर्ने भएको छ । जसका लागि गाउँपालिकाले आफ्नो पालिकासँग जोडिएका अर्थात मुन्दुम ट्रेलसंग जोडिएको स्थानीय तहसँग समन्वय गर्दै मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने निर्णय गरेको हो ।

जसमा खोटाङको साकेला, रुपाकोट र केपीलासढी गाउँपालिका, भोजपुरकै सालपासिलिछो, भोजपुर नगरपालिका, सडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले १ लाख पर्यटक भित्राउने योजना बनाएको गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।