काठमाडौँ । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले विश्वका ९८ देशका नागरिकलाई ९० दिनसम्म बिना भिसा यात्रा गर्न सक्ने सुविधा दिएको छ। यो सुविधा पाउने देशमा दक्षिण एसियाली मुलुक माल्दिभ्सदेखि ल्याटिन अमेरिकी मुलुक ब्राजिलसम्म छन्। तर, ९८ देशको सूचीमा नेपाल परेको छैन।
नेपालीको गोर्खा भर्तीको इतिहाससँग जोडिएको हङकङले ९० दिनसम्मको भिसामुक्त प्रवेश सुविधाका लागि नेपाललाई भने समेटेको छैन। यसै साता सार्वजनिक गरिएको हङकङको आप्रवासन विभागको सूचीमा विश्वका ९८ देश परे पनि नेपाल छुटेको हो।
त्यसो त, यो सूचीमा भुटान, बंगलादेश मात्र होइन, भारत पनि अटाएको छैन। कमजोर पासपोर्ट भएका तथा भिसामुक्त प्रवेशको सुविधा दुरुपयोग गरी निर्धारित समयभन्दा बढी बस्ने सम्भावना भएका देशका नागरिकमाथि कडाइ गरिएकाले नेपाल र भारतजस्ता देश सूचीमा नपरेको जानकारहरू बताउँछन्।



















