नाम्चेः  सगरमाथा प्रवेश क्षेत्रको  स्याङ्बोचेमा छ होटेल एभरेस्ट भ्यू  । डाँडामा रहेको होटेलको एकातर्फ नाम्चे र अर्कोतर्फ खुम्जुङ गाँउ पर्छन । यो होटेल धेरै चर्चित होटेल हो । नेपाली देखी विदेशीहरु यो होटेल बारेमा जानकार छन । सन १९६८ बाट बन्न सुरु भएर १९७१ मा बनिसकेको होटलमा १२ स्तरिय कोठाहरु छन ।

हरेक कोठाबाट सगरमाथा देखिन्छ । सबै कोठाबाट  सगरमाथाको भ्यू देखिने गरी बनाइएकोले नै यसको नाम होटेल एभरेस्ट भ्यू भएको हो । यो होटलमा  प्रति कोठाको शुल्क बिस हजार नेपाली रुपैयाँ हाराहारीबाट सुरु हुन्छ । यही होटेल बारेमा केही रोचक जानकारी नेपाल टुरिजम प्लसले बुँदागत रूपमा प्रस्तुत गरेको छ । 

१. जापानी इन्जिनियर तथा आरोहीले बनाएको होटेल 

होटेल एभरेस्ट बनाउने व्यक्तित्व हुन ताकासी मियाहारा । उनी पढाइले जापानका मेकानिकल इन्जिनियर हुन । जापानको निहोन विश्वविद्यालयका उत्पादन हुन उनी । सन १९६२ मा पश्चिम नेपालको मुकुट हिमाल आरोहण गर्न आए । अनि क्रमशः विभिन्न घटनाक्रमहरूले उनलाई विश्वमै चर्चित बन्ने होटेल एभरेस्ट भ्यू बनाउन प्रेरणा दियो ।

२०७६ मङ्सिर ८ मा क्यान्सरले थलिएर मृत्यु भएका मियाहाराको होटेल नेतृत्व अहिले युरोप अमेरिका लगायतका देशहरूमा उच्च शिक्षा र काम गरेको अनुभव बोेकेकि छोरी सोनिया मियाहाराले गर्दै आएकी छिन । सन १९६२ मा पहिलोपटक नेपाल आएका मियाहाराले चार दशकपछि सन २००५ मा नेपाली अङ्गीकृत नागरिकता पाएका थिए ।

उनले नागरिकता पाएपछि पहिलो संविधानसभामा नेपाल विकास पार्टी नामक दल खोलेर दैशदौडाहामा पनि हिँडे । तर, उनले एकै सिट जित्न सकेनन् ।  पूर्वपश्चिम रेल देखी उत्तर दक्षिण सुरुङ मार्ग हुँदै पर्यटकीय क्षेत्रमा केबलकार बनाउने उनको योजनाहरू अहिले अरूले बोक्न थालेका छन । 

२. खुम्बु क्षेत्रमा भएको दुर्घटनाले जन्माएको होटेल अवधारणा 

मियाहाराले होटेल एभरेस्ट खोल्नमा खुम्बु क्षेत्रको तेङ्बोचेमा एक जापानी साथीलाई हेली उद्धार गर्नुपर्ने भयो । सन १९६८ को फेब्रुअरीमा उनी उद्धारलाई सहयोग गर्न पुगे । त्यही क्रममा उनलाई भोटे कुकुरले टोक्यो । उपचार गर्न कुन्देमा पुगे ।

त्यही उपचार र आरामको क्रममा आएको अवधारणा हो होटेल एभरेस्ट भ्यू । न्यूजिल्यान्डबाट सगरमाथाका प्रथम आरोही एडमन्ड हिलारीको पहलमा आएका न्युजिल्यान्डकै डाक्टर जोन म्याककिनोनले दिएको सल्लाह अनुसार होटेल बनाउने स्थान तय भएको हो । 

३. गिनिज बुकमा सुचिकृति नेपालको एक्लो होटेल 

होटेल एभरेस्ट भ्यू बनेको ३३ वर्षपछि सन २००४ मा होटेल गिनिज बुकमा सूचिकृत हुन पुग्यो । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटेलको रूपमा नेपाल र नेपाली होटेल व्यवसायीको इज्जत राख्न होटेल एभरेस्ट भ्यूले धेरै महत्वपुर्ण योगदान गरेको छ । 

४. वातावरणमैत्री होटेल 

होटेल एभरेस्ट भ्यू वातावरणमैत्री होटेल हो । मान्छेका हातैले बनाएका २५ हजार सेता ढुङ्गाले बनेको छ होटेल । होटेलका कोठाभित्रका ढुङ्गाहरू फुटाइएको छैन । जस्ताको तस्तै राखिएको छ । २ लाख घण्टाको श्रममा बनेको होटलमा नविकरणयि ऊर्जाको राम्रो प्रयोग भएको छ । प्रकृति र संसकृतिलाइ जोगाएर होटेल बनेको छ । 

५. स्याङ्बोचेमा होटेल र विमानस्थल बनाउने कुराको विपक्षमा थिए एडमन्ड हिलारी 

सोलुखुम्बुको स्याङ्बोचेको होटेल एभरेस्ट भ्यू देखी विमानस्थल बनाउने कुरामा  सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारी विपक्षमा थिए  । सन १९५३ मे २९ मा सगरमाथामा पाइला राखेर सगरमाथा क्षेत्रकै विकासमा सक्रिय हिलारीले सार्वजनिक रूपमै यस्तो बताएका थिए ।

तर, मियाहाराले तत्कालीन समयमा बनाउने नेतृत्व गरे । नेपाल सरकार नि सकारात्मक बन्यो । तर, जीवनको अन्तिम वर्षहरूमा भने मियाहाराले विमानस्थल बनाउने कुरामा भने नबनाएको हुन्थ्यो कि भन्ने जस्ता भाव व्यक्त गर्ने गरेको उनी निकटकहरु बताउँछन् ।