इटहरी। पहाडको अग्लो टाकुरामा अवस्थित तिनजुरेको पाथीभरा मन्दिरको परिसरबाट चारैतिरका हिमशृङ्खला, हरियाली पहाड र टाढासम्म फैलिएको प्राकृतिक सुन्दरता देखिन्छ । तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलमा रहेको यो मन्दिर धार्मिक आस्था र प्राकृतिक आकर्षणको सङ्गम बनेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ पुग्ने तीर्थालुको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । तर, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस स्थलसम्म पुग्ने सडकको कठिनाइ र आवश्यक भौतिक पूर्वाधारको अभाव छ ।

तिनजुरेको पाथीभरा मन्दिरलाई स्थानीयले ‘सानो पाथीभरा’का रूपमा चिन्ने गरेका छन् । तेह्रथुम र सङ्खुवासभाको सिमाना क्षेत्रनजिक रहेको यो मन्दिर पूर्वी पहाडी क्षेत्रको एक महत्त्वपूर्ण धार्मिक गन्तव्य हो । विशेषगरी चैत र वैशाख महिनामा यहाँ तीर्थालु तथा पर्यटकको चहलपहल बढ्ने गर्छ । माघ र फागुनमा तुलनात्मक रूपमा कम आगन्तुक आउने भए पनि उभौली पर्वको समयसँगै यहाँ दर्शन गर्न आउनेको सङ्ख्या बढ्ने गरेको छ । गुराँसको राजधानीका रूपमा चिनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रको आसपासमा रहेको यस मन्दिरको धार्मिक महत्त्व आफ्नै किसिमको छ । मन्दिरमा पुगेर दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका कारण तेह्रथुमसहित पूर्वी तराईका विभिन्न जिल्लाबाट भक्तजन यहाँ पुग्ने गरेका छन् । मन्दिरमा दर्शन गर्न आएका इटहरीका सन्तोष बस्नेतले पनि यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको बताए । कतिपय दर्शनकै लागि यहाँ पुग्छन् भने कतिपय धार्मिक आस्थासँगै प्राकृतिक दृश्यावलोकनका लागि पनि मन्दिर आउने गर्छन् ।

मन्दिरको अर्को आकर्षण यहाँबाट देखिने प्राकृतिक दृश्य हो । अग्लो पहाडको टुप्पोमा रहेको मन्दिर परिसरबाट मौसम खुलेका बेला चारैतिरका हिमाल र पहाडी भूभागको मनोरम दृश्य देख्न सकिन्छ । पूर्वी पहाडका विभिन्न भूभागको अवलोकन गर्न सकिने भएकाले धार्मिक यात्रामा निस्किएका तीर्थालुसँगै घुमफिरका लागि आउने पर्यटकको पनि रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । बिदाको दिन परिवार र साथीभाइसँग घुम्न आउनेहरूको चहलपहल बढी हुने गरेको छ भने अन्य दिनमा विशेषगरी मन्दिर दर्शनकै लागि भक्तजन आउने गरेको पुजारी मोहन ढकालले बताए । मन्दिरको धार्मिक विश्वाससँग जोडिएको अर्को विशेषता प्रवेशमार्गमा डोरी टाँग्ने परम्परा पनि हो । आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दर्शनार्थीहरूले मन्दिर प्रवेश गर्ने स्थानदेखि मन्दिरसम्म डोरी टाँग्ने गर्छन् । यसरी टाँगिएका डोरीले मन्दिर परिसरलाई थप विशिष्ट स्वरूप दिएका छन् ।

बसन्तपुर बजारबाट सवारीसाधनमार्फत मन्दिर क्षेत्रसम्म पुग्न सकिन्छ । तर, सडकको अवस्था सहज छैन । आरआर गार्डेनदेखि मन्दिरसम्मको कच्ची तथा साँघुरो सडक, उकालो–ओरालो र वर्षायाममा हुने हिलाम्मे अवस्थाले यात्रुलाई समस्या हुने गरेको छ । सडक सहज नहुँदा वृद्धवृद्धा, बालबालिका र टाढाबाट आउने तीर्थालुलाई मन्दिरसम्म पुग्न कठिन हुने गरेको छ । निजी सवारीसाधन लिएर पुग्नेहरूलाई समेत सडकको अवस्थाले यात्रा असहज बनाउने गरेको सुनसरीबाट आएकी एलिसा कटुवालले बताइन् । उनले मन्दिरसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने बताइन् । धार्मिक आस्थाका कारण कठिन बाटो पार गरेर मन्दिर पुग्ने भक्तजनको सङ्ख्या बढ्दै गए पनि सडक सुधारमा पर्याप्त ध्यान पुग्न सकेको छैन । सडकको स्तरोन्नति, नियमित मर्मतसम्भार र आवश्यक स्थानमा सुरक्षित यात्रा गर्न मिल्ने संरचना निर्माण गर्न सके यस क्षेत्रको धार्मिक पर्यटन थप विस्तार हुन सक्ने स्थानीयको अपेक्षा छ । सहज सडक पहुँच नहुँदा मन्दिरको प्रचारप्रसार र पर्यटकीय सम्भावनाअनुसार आगन्तुकको आवागमन बढाउन पनि चुनौती बनेको छ ।

मन्दिर क्षेत्रमा पुग्ने तीर्थालुका लागि आवश्यक भौतिक संरचनाको समेत अभाव छ । दर्शनार्थीलाई विश्राम गर्ने स्थान, व्यवस्थित शौचालय, खानेपानी, फोहोर व्यवस्थापन र अन्य आधारभूत सुविधा विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ । धार्मिक विश्वास, प्राकृतिक सुन्दरता र तीनजुरे क्षेत्रको पर्यटकीय सम्भावना बोकेको तिनजुरेको पाथीभरा मन्दिर प्रचारप्रसार र पूर्वाधार विकासको पर्खाइमा छ । आस्थाको डोरीले मन्दिरसम्म पुग्ने बाटो जोडिरहेका भक्तजनलाई अब सहज सडक र आवश्यक सुविधाले जोड्न सके यो क्षेत्र पूर्वी पहाडकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ । त्यसका लागि स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारले समेत यसको विकासमा चासो दिन आवश्यक देखिन्छ ।