रसुवामा हालै आएको बाढीपहिरोबाट विस्थापित परिवारहरूको पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग जुटाउने उद्देश्यले हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’ को विशेष प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी नोभेम्बर १, आइतबार साँझ ५ बजे, हुङ होम, काउलुनस्थित सनबिम वाम्पो सिनेमा हलमा वृत्तचित्र प्रदर्शन गर्न लागिएको हो। ११औँ एनआरएनए डेको अवसरमा आयोजना हुन लागेको यो विशेष प्रदर्शन ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित हुन लागेको हो। प्रदर्शनमार्फत दर्शकलाई सगरमाथाको रोमाञ्चक यात्रा र नेपालको हिमाली सम्पदाबारे जानकारी गराउनुका साथै बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ। एनआरएनए हङकङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनको घोषणा गर्दै पोस्टर सार्वजनिक गरेको छ। यसअघि हङकङमा सम्पन्न ‘रोड टु एभरेष्ट’को पहिलो प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता र दोस्रो प्रदर्शनको माग बढेपछि पुनः प्रदर्शन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। एनआरएनए हङकङका महासचिव इन्द्र पुनले नेपालीले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद आफ्नै कथा आफैँ भन्ने प्रयासलाई समर्थन गर्नु सबैको दायित्व भएको बताए।
“हामीले लामो समयसम्म आफ्नो कथा आफैँ भन्न सकिरहेका थिएनौँ। अहिले नेपालीले आफ्नै लगानीमा आफ्नै कथा भन्न खोजिरहेका छन्। सीमित स्रोतसाधनका बाबजुद पनि यस्तो प्रयास भइरहेकोमा हामीलाई गर्व छ,” पुनले भने।
उनले हङकङमा रहेका नेपाली नयाँ पुस्ताका बालबालिका तथा युवालाई सगरमाथा र नेपालको हिमाली सम्पदाबारे बुझ्न वृत्तचित्र हेर्न आग्रह समेत गरे।
वृत्तचित्र प्रदर्शनकी संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले पहिलो प्रदर्शन सफल भएपछि दर्शकको मागलाई सम्बोधन गर्न पुनः प्रदर्शन आयोजना गर्न लागिएको बताइन्।
उनका अनुसार पहिलो प्रदर्शनमा सहभागी हुन नसकेका दर्शकलाई यसपटक अवसर प्रदान गर्नुका साथै हङकङमा रहेका नेपाली तथा अन्य समुदायका दर्शकमाझ नेपालको हिमाली कथा पुर्याउने उद्देश्य राखिएको छ। उनले हल बुकिङलगायत आवश्यक तयारी पूरा भइसकेको जानकारी दिँदै सबैलाई सहभागी भएर प्रदर्शन सफल बनाउन आग्रह गरिन्।
एनआरएनएकी महिला उपाध्यक्ष टिका गुरुङले ‘रोड टु एभरेष्ट’ले सगरमाथा आरोहणको कथा मात्र नभई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई समेत उजागर गरेको बताइन्।
एनआरएनए आईसीसीले वृत्तचित्रलाई विश्वभर पुर्याउने उद्देश्यले वी विल राइज फाउन्डेसनसँग समझदारी गरिसकेको जानकारी दिँदै उनले विश्वभरका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई पनि फिल्म प्रदर्शनका लागि पहल गर्न आग्रह गरिन्।
“जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे पनि फिल्मले बोल्छ। हामीले यसलाई विश्वभर लैजाने योजना बनाएका छौँ। विश्वभरका एनसीसीलाई पनि यो फिल्म प्रदर्शन गर्न आग्रह गर्दछु,” उनले भनिन्।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईले ‘रोड टु एभरेष्ट’ सगरमाथा आरोहणको कथामा मात्र सीमित नभएको बताइन्। उनका अनुसार वृत्तचित्रले शेर्पा समुदायको योगदान, साहस, संघर्ष, चुनौती र विश्वाससँगै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावलाई समेत प्रस्तुत गरेको छ।
“यो फिल्म सगरमाथाको मात्र कथा होइन। यसमा शेर्पा समुदायको योगदान, साहस, संघर्ष, चुनौती र विश्वाससँगै जलवायु परिवर्तनको असरको कथा पनि छ। सगरमाथा हामी सबैको पहिचान र गौरव हो,” राईले भनिन्। उनले हङकङमा रहेका सबै नेपालीलाई वृत्तचित्र हेर्न र रसुवाका विपद् प्रभावित परिवारलाई सहयोग गर्ने अभियानमा सहभागी हुन आग्रह गरिन्। पत्रकार सम्मेलनको सञ्चालन एनआरएनए हङकङका सचिव विश्वनाथ घिसिङले गरेका थिए। कार्यक्रममा एनआरएनए हङकङका पूर्वअध्यक्ष गोकर्ण ढकाल, पदाधिकारी मनोज गौतम, अर्जुन गौचन, मनिष लिम्बू र सवित्रा इङनमलगायत नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङको उपस्थिति थियो।
५० मिनेट लामो ‘रोड टु एभरेष्ट’ वी विल राइज फाउन्डेसनद्वारा निर्मित वृत्तचित्र हो। यसले समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको यात्रामार्फत पर्वतारोहण, मानवीय साहस, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनका विषयलाई प्रस्तुत गरेको छ।
नेपालमा विशेष प्रदर्शनपछि हङकङमा ग्रान्ड प्रिमियर गरिसकेको वृत्तचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।


















