सोलुखुम्बु। प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख तथा वरिष्ठ लेखा अधिकृत आठौँ तहका पृथ्वीमान लिम्बुले मेरापिक हिमालको सफल आरोहण गरेका छन्। निजी खर्चमा मेरापिक आरोहण गर्ने नेपालकै पहिलो अधिकृत कर्मचारीका रूपमा उनले यो उपलब्धि हासिल गरेका हुन्।
लिम्बु सन् २०२६ अक्टोबर १८, आइतबार बिहान ७:१० बजे ६ हजार ४७० मिटर उचाइको मेरापिक हिमालको चुचुरोमा पुगेका हुन्। उनी बिहान ३:०५ बजे ५ हजार ८०० मिटर उचाइमा रहेको उच्च शिविरबाट आरोहणमा निस्किएका थिए। करिब चार घण्टामा चुचुरो पुगेका उनले आरोहणका लागि व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँ खर्च गरेका छन्। आरोहण व्यवस्थापनमा एटलस अल्पाइन एक्सपिडिसन प्रा. लि. र पथप्रदर्शकका रूपमा सिङ्गी लामा सहभागी थिए।

लिम्बुले यसै वर्ष ४ हजार ५०० मिटर उचाइको मार्डी बेस क्याम्प र ५ हजार ३५४ मिटर उचाइको एभरेस्ट बेस क्याम्पको यात्रा पूरा गरेका थिए। त्यसपछि आफ्नै देशका हिमाल पनि आरोहण गर्नुपर्छ भन्ने सोच आएको उनले बताए। यात्राका क्रममा उनले हिमाली क्षेत्रको सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था र भौगोलिक बनोटबारे अध्ययन गर्ने अवसरसमेत पाएका थिए।
हिमाली पर्यटनको पूर्वाधार सुधार्न राज्यसँग आग्रह
आरोहणका क्रममा उच्च शिविर र आधार शिविरका शौचालय अत्यधिक फोहोर भएकाले प्रयोग गर्न नसकिने र खुला हिमाली क्षेत्रमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको लिम्बुले बताए। त्यस्तै, खोलामाथिका साँघु जीर्ण हुँदा आवतजावत कठिन र जोखिमपूर्ण हुने गरेको उनको अनुभव छ।
हिमाली वातावरण स्वच्छ राख्न, यात्रा सुरक्षित बनाउन र पर्यटकलाई सहज सुविधा उपलब्ध गराउन शौचालयको उचित व्यवस्थापन, साँघुको मर्मत तथा पदमार्ग सुधारमा राज्यले ध्यान दिनुपर्ने उनको आग्रह छ। यस्ता पूर्वाधारको विकासले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको विश्वास छ।

हिमाल आरोहण गर्न इच्छुक सरकारी कर्मचारीलाई प्रदेश तथा सङ्घीय सरकारले आवश्यक सहयोग, अवसर र बजेट उपलब्ध गराउनुपर्ने पनि लिम्बुको भनाइ छ। यस्ता गतिविधिले कर्मचारीको ज्ञान, सीप, क्षमता र अनुभव अभिवृद्धि गर्नुका साथै संस्थागत कार्यक्षमतामा समेत योगदान पुर्याउने उनले बताए।




















