चैनपुरः मकालु हिमाल, सभापोखरी, अरुण उपत्यका, गुफापोखरी देखी अनेक राष्ट्रिय स्तरका पर्यटन क्षेत्र भएको जिल्ला संखुवासभा घुम्न नचाहने को होला? तपाइ पनि यदि घुमन्ते हुनुन्छ भने संखुवासभा घुम्नै हुनेछ । वा घुमिसक्नु भयो । 
संखुवासभा पुगेर नछुटाउनुपर्ने एक ओझेलमा रहेको गन्तव्य नुनढाकी हो । नुनढाकी संखुवासभाको चैनपुरबाट आधा घण्टाको सडक दुरीमा पुग्न सकिन्छ । गुराँसको राजधानी मिल्के र गुफाबजार क्षेत्रबाट पनि आधा देखी पौने एक घण्टा ओरालोमा नुनढाकी पुगिन्छ । चैनपुरबाट जाँदाको सडक केही राम्रो छ । मिल्के र गुफाबजार क्षेत्रबाट भने  सबै सडक कच्ची छ । बाइक, साइकल र फोरविल गाडीबाट मात्रै सहजरुपमा जान सकिन्छ । 

नुनढाकीको रोचक पक्ष भनेको यसको आसपास हुने विभिन्न आकर्षक गन्तव्य र नुनढाकीको लिखित इतिहास हो । चैनपुर नगरपालिका १ मा पर्ने नुनढाकीमा एक पुरानो धार्मिक गन्तव्य छ । तातोपानी नामक गन्तव्यको लिखित इतिहास नै ४३६ बर्ष पुरानो छ ।

विसं १६४२ मा जयमान थक्लुङले स्थापना गरेको तातोपानी नुनढाकीको प्रसिद्ध धार्मिक सांस्कृतिक क्षेत्र हो । तातोपानी क्षेत्रमै शिव र सिंहका सुन्दर मूर्तिहरू निर्माण गरिएका छन् । 

यस्तै नुनढाकी नजिकै छ तङ्लेवा झरना । यो झरना मझौला आकारको रोचक झरना हो । यस्तै गुफापोखरी पनि नुनढाकि आसपासको गन्तव्य हो । 

नुनढाकीमा व्यवस्थित होटल भने छैनन् । यात्रामा जानेले होटलमा बस्न चाहेमा कि नुनढाकी घुमेर माथि डाँडाको गुफाबजारमा वा पल्लो पहाडी भित्ताको चैनपुर बजारमै पुग्नुपर्ने हुन्छ । तर, सामुदायिक होमस्टे भने नुनढाकीमा उपलब्ध छ । येल्लो भिल्ला नामक सामुदायिक होमस्टेमा एक दर्जन हाराहारी आगन्तुक अटाउँछन् । 

नुनढाकी संखुवासभाको हिमाल नदेखिने स्थानमा रहेको एक सुन्दर गन्तव्य भएकोले प्रचारमा लागेको बताउँछन् स्थानीय प्रेम लिम्बु । बेलायती गोर्खा सैनिक सेवाबाट अवकाश भएर गाउँमै आएका लिम्बुले नुनढाकीको प्रवर्द्धन गर्न आफ्नै अगुवाइमा नुनढाकीतातोपानी डट ओआरजी नामक वेब पोर्टल समेत सञ्चालन गरेका छन् ।

उनी भन्छन्, ‘नुनढाकीको मौलिकता र सुन्दरतालाई उजागर गर्न हामी सक्रिय छौँ । पूर्वाधार र प्रचारको काम सँगसँगै लाने हाम्रो प्रयत्न छ । सरकारतर्फको सहयोग भने निराशाजनक छ ।’

यदि तपाइ नुनढाकी जान चाहनुहुन्छ भने नुनढाकीतातोपानी डट ओआरजी वा सिधै प्रेम लिम्बुलाई ९८६३१९१४५१ मा सम्पर्क गर्न सक्नुहुन्छ । 
`