मोरङः उत्तरी मोरङमा धनकुटासँग कुम जोडेर उभिएको सुन्दर पर्यटन गन्तव्य हो जेफाले ।  जेफाले होटल नहुने, होमस्टे मात्रै हुने एक दुर्लभ गन्तव्य पनि हो । केराबारी गाँउपालीकाको सिंहदेवीमा रहेको जेफाले चिनिएको धेरै भएको छैन ।

आधा दशक हाराहारी मात्रै भएको छ । केराबारीबाट २४ किलोमिटर र भेडेटारबाट ३६ किलोमिटर सडक दुरीमा रहेको जेफाले होमस्टेमा धेरै चिनिएको नाम हो । 

इटहरीबाट केराबारी हुँदै दुई पाङ्ग्रे र फोरविल गाडिबाट साढे दुई घण्टामा पुगिने जेफाले धरान, भेडेटार, ध्वजेडाँडा, राजारानी हुँदै पुग्न पाँच घण्टा लाग्छ । समुन्द्र सतहबाट १८ सय मिटरमा रहेको जेफाले भेडेटार भन्दा अग्लो छ । जेफालेमा एक हजार पचास रुपैयाँमा दुई छाक खाना नास्ता सहित होमस्टे बस्न सकिन्छ । 

२०७४ जेठ ४ बाट औपचारिक रूपमा पर्यटन कार्यालयमा दर्ता भएर होमस्टे सञ्चालन भएको जेफालेमा अहिले ८ वटा होमस्टे दर्ता भएका छन् । बाँकी दुई घरले पनि दर्ता प्रक्रिया अगाडि बढाएको बताउँछन् जेफाले सामुदायिक होमस्टे समितिका अध्यक्ष युवराज खड्का । 

जेफालेको होमस्टेसँगै अर्को महत्त्वपूर्ण आकर्षण जेफाले भ्यू टावर हो । १९७० मिटर उचाइमा रहेको टावरबाट खुल्ला आकाश भएको समयमा हिमाल पाहाड तराई सबै देखिन्छ । सूर्योदय र सूर्यास्तलाई पनि टावर अझ राम्रो लोकेसन हो । तीस रुपैयाँ शुल्कमा टावर प्रवेश गर्न पाइन्छ । 

जेफाले गएपछि छुट्न नहुने अर्को आसपासको आकर्षण मातृभूमि चिया बगान हो । करिब ८ सय रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानले कन्यामको झल्को दिन्छ । २०५६ मा सुरु भएको बगान धेरै सुन्दर छ । बगान भित्रै होमस्टे सुविधा समेत सञ्चालन गरेका छन् सञ्चालक नारायणप्रसाद राईले ।  

इटहरीका घुमन्ते सन्तोष निरौला जेफाले जान भनेपछि हुरुक्कै हुन्छन् । 'गाउँले भाइ' उपनामले सामाजिक सञ्जालमा परिचित उनी आफ्नो व्यवसायको फुर्सदमा साथीहरूबाट जेफाले जाने प्रस्ताव आएमा स्विकारी हाल्छन् । किन त जेफालेको यस्तो मोह? यो प्रश्नमा उनी भन्छन् ‘घुम्न जाँउ जेफालेः सुन्दर छ, सस्तो छ ।’