इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित भेडेटारमा यतिबेला पर्यटकको बाक्लो उपस्थिति रहेको छ । जसकारण यस क्षेत्रका साना तथा ठुला होटलहरू आन्तरिक तथा बह्य पर्यटकहरूले भरीभराउ रहेका छन् ।

चिसो मौसम विषेशगरी गर्मी छल्न र मनोरम दृश्यावलोकनका लागि यस क्षेत्रमा पर्यटकहरू पुग्ने गरेका छन् । तर गर्मीयामबाहेक पनि बाक्लो संख्यामा पर्यटकहरू पुग्ने गरेका छन् । तराई लगायत अन्य ठाउँबाट रमाउन भेडेटार लगायत भेडेटारबाट नजिकै रहेको, नाम्जे र नमस्ते झरना लगायतका ठाउँमा पर्यटकहरू आउने गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार संस्था सिएनएनले भेडेटारको नाम्जे बजारलाई १२औं गन्तव्य मध्ये पाँचौ गन्तव्यमा राखेपछि यहाँको पर्यटकीय चर्चा चुलिएको छ ।

पछिल्लो समय दुई दिनको सार्वजनिक बिदापश्चात् आन्तरिक पर्यटकको संख्या बढ्दै गएको होटल व्यवसायी लिलाराज लावती बताउनुहुन्छ । जसकारण पनि यहाँका होटल व्यवसाय चलायमान भएको उहाँको भनाइ छ । यस्तै, भेडेटार नजिकै रहेको नमस्ते झरनाले पनि पर्यटलाई आकर्षित गरेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमरा लिम्बूले बताउनुभयो । झरना आएका पर्यटकहरू बास बस्न फर्किएर भेडेटार नै पुग्ने गरेका छन् । यस क्षेत्रमा साना तथा ठूला गरी करिब एक सयको हाराहारीमा होटलहरू सञ्चालनमा रहेका उहाँले बताउनुभयो ।

पर्यटक आकर्षण गर्न भेडेटारमा हरेक अंग्रेजी वर्षको सुरुआतमा फुड फेस्टिभलको आयोजना समेत गरिँदै आएकोे छ । भेडेटारमा अधिकजसो भारतीय पर्यटकहरू आउने गरेका छन् । क्षणभरमै हुने मौसम परिवर्तन यहाँको मुख्य विशेषता नै रहेकाले पर्यटकको रोजाईमा पर्ने गरेको होटल व्यवसायी सुनीता थापा बताउनुहुन्छ । चाडपर्व सकिएपछि पर्यटकको चहलपहल दिनादिन बढ्दै गएको उहाँले बताउनुभयो । यस क्षेत्रमा गर्मीयाममा दैनिक करिब एक हजार भन्दा बढी पर्यटकहरू आउने गरेका छन् भने जाडो सुरु भएसँगै दैनिक न्यूनतम ५ देखि ७ सयको हाराहारीमा पर्यटक आउने गरेका छन् । 

तराईदेखि हिमालसम्मको मनोरम दृश्यावलोकनका लागि पूर्वी तराईका साथै भारतको विभिन्न ठाउँबाट पर्यटक आउने गरेका होटल व्यवसाय दिलीप लिम्बूले बताउनुहुन्छ । यस्तै भेडेटारसहित डाँडाबजारको ध्वजेडाँडा, चौबिसे गाउँपालिकाको रानी ताल लगायतका पर्यटकीयस्थल पर्यटकको रोजाईमा पर्ने गरेका छन् । खासगरी पूर्वी नेपाल आएपछि भेडेटारमा प्रत्यक्ष रूपमा अवलोकन गर्न र यहाँको मनोरम दृश्यावलोकन गर्न आइपुग्ने गरेका छन् ।