इटहरीः  अहिलेको जमानामा चोकचोक गल्लीगल्लीमा इन्टरनेट सुविधा छ । कतिपय सडकमै पनि  फ्री वाइफाइ हुन्छ । अझ क्याफे छिर्दा त इन्टरनेट नभएको क्याफे लगभग भेटिँदैन ।  यो भिड भन्दा फरक छ इटहरीको ‘क्याफे डी स्टेडियम’ ।

इटहरीको रङ्गशालाको गेट अगाडि रहेको क्याफेमा इन्टरनेट जोडिएको छैन । इन्टरनेट नजोडिएको कुरा गर्वसाथ क्याफेको भित्तामा लेखिएको छ । भनिएको छ, ‘ केही मिठो बात गर, वाइफाइ त घरमै छदैछ ।’ 

किन क्याफेमा इन्टरनेट जोडिएन? यसको सहज उत्तर छ सञ्चालक सन्तोष राईसँग । उनी भन्छन्, ‘क्याफेमा आउने साथीहरूको आमनेसामने कुराकानी हुने समय वाइफाइले डिस्टर्ब गर्दोरहेछ । त्यही कुरा अन्त्य गर्न यसो गरिएको हो ।’
आफ्नो क्याफेमा इन्टरनेट नभएकैले यहाँ आउनेहरूले मज्जाले गफ गर्ने र गफ गर्न इन्टरनेट नभएकोले सहज भएको भन्दै आगन्तुकहरू आउने राई बताउँछन् । 

विदेश त्यागेर क्याफे व्यवसायमा जमेका राई 

२०६८ सालताका इटहरी नगरपालिका कार्यालय क्षेत्रमा एक होटल गरेका थिए राईले । उनले राम्रोसँग चलाउन सकेनन् । घरभाडा अचाक्ली महँगो र होटलको अनुभव र व्यापार कम भएकोले पहिलो प्रयासमा ढुङ्गो लाग्यो । इटहरी ४ बागेश्वरी टोलका स्थानीय राई होटल व्यवसाय असफल भएपछि बिरक्तिएर वैदेशिक यात्रामा निस्किए । 

दुबई जानु अगाडि उनले २०७२  असार १६ देखी मङ्सिर १४ सम्म ७९२ घण्टाको कुक तालिम लिए । काठमाण्डौको ओरिएन्टल हस्पिटालिटि एन्ड टुरिजम ट्रेनिङ सेन्टरबाट तालिम लिएर दुवै पुगे राई । तर, उनलाई भनिएको काम भएन । अर्थात् उनले कुक काम पाएनन् । 

मासिक दुःखले सबै कटाएर १८ हजार मात्रै बच्ने भएपछि विदेश बसिरहन रुचाएनन् उनले । अनि आए नेपाल । २९ महिना दुबई बसेर नेपालमा आएर केही गर्ने योजना बनाउँदा बनाउँदै २ वर्ष बित्यो । विभिन्न क्षेत्रमा होटल सञ्चालनको ठाउँ खोजे उनले । पाएनन् । सबैतिरबाट हरेस खाएका उनी एकदिन टहलिँदै इटहरी रङ्गशाला अगाडि रहेको ‘रङ्गशाला खाजाघर’मा आएर पसल किन्न चाहेको मात्रै के भनेका थिए उनलाई त्यही पसल किन्न अफर आयो ।

उनले त्यही ‘रङ्गशाला खाजाघर’लाई फेरेर बनाएको क्याफे हो ‘क्याफे डी स्टेडियम ।’ क्याफेको नाम राख्ने सिलसिलामा विभिन्न ३९ नाम आएको उनी बताउँछन् । चिया घर, चिया अड्डा देखी कफी जक्सन जस्ता कुनै नाम उनलाई मन परेन । इटहरीका पत्रकार तथा राईका गाउँले भाइ हिमाल दाहालले दिएको नामनै  उनलाई मन पर्‍यो । जुन नाममा अहिले क्याफे सञ्चालन भएको छ ।

२०७६ फागुन २१ मा स्थापना भएको स्टेडियम डी क्याफेले छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भएको छ । अहिले दैनिक दर्जनौँ क्याफेमा पुग्ने भन्दै सञ्चालक राई खुसी छन् । अविवाहित सञ्चालक राई भन्छन्, ‘कमाइ पनि विदेश भन्दा राम्रो छ ।’ 

आकर्षक सजावट र सहुलियत मूल्यले ग्राहक तान्ने स्टेडियम डी क्याफे 

स्टेडियम क्याफेमा १५ जना ग्राहक सहज अटाउन सक्छन् । उनीहरू बस्ने टेबल, कुर्सी  टायरले बनेका छन् । प्रयोग भएका टायरका टेबल र कुर्सी बनाएका उनले प्रयोग भएको टिभिलाइ समेत टेबल बनाएका छन् । क्याफेमा विभिन्न पपेटहरु झुन्ड्याएका छन् । भित्तामा आकर्षक नाराहरू लेखेका छन् । 

‘चिया साथी अनि मिठो गफ’, ‘परिवर्तनको सुरुवात आफैबाट गरौँ’, ‘परिश्रम त देशमै गर्ने हो, विदेश त हेर्न घुम्न जाने हो’ जस्ता नाराहरू छन् भित्तामा । विभिन्न पेन्टिङ समेत भित्तामै छन् । यी सबै कामको नेतृत्व सञ्चालक राई आफैले गरेका हुन । 

चियो पेस ५०, लस्सी ६०, जुजु धौ ५०, मट्का कफी ५०, एग चाउमिन ७०, चिकेन ससेज ४०, मड्का चिया ३०, परौठा ५०, एग रोल ७०, मट्का चिया ३० मा बेच्ने राईको क्याफे इटहरीका अन्य क्याफेको शुल्क भन्दा सस्तो छ ।

क्याफेका मट्का चिया, परौठा र अन्डा रोल सिग्नेचर आइटम भएको बताउँछन् क्याफेमा नियमित पुग्ने इटहरीका पत्रकार  मिलन बिछोड । बिछोड भन्छन्, ‘पाँच वर्ष अगाडिसम्म लगभग क्याफेविहीन इटहरीमा अहिले दुई दर्जन हाराहारी क्याफे छन् । स्टेडियम डी क्याफे त्यसमा एक युनिक क्याफे हो ।’