खाँदबारी । सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका–४ मा अवस्थित धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ। पछिल्लो समय संरक्षण तथा पूर्वाधार निर्माणका काम अघि बढेसँगै यहाँ पर्यटकको आकर्षण पनि बढ्दै गएको छ।
जिल्ला सदरमुकाम खाँदबारीबाट करिब डेढ घन्टाको सवारी दूरीमा रहेको यस पोखरीलाई व्यवस्थित रूपमा संरक्षण र विकास गर्दै पर्यटनसँग जोड्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ। मत्स्यपोखरीमा विशेषगरी तीर्थयात्री तथा पर्यटक असला माछाको अवलोकन गर्न पुग्ने गरेका छन्।
यहाँ पाइने असला माछाका साथै मनमोहक प्राकृतिक दृश्य र शान्त वातावरणले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाका अनुसार मत्स्यपोखरी क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा प्रचार–प्रसारलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ।
गाउँपालिकाले मत्स्यपोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको छ। यसका लागि मौलिकतालाई कायम राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासका काम भइरहेको जनाइएको छ।
पर्यटकको आकर्षण बढाउन यहाँ असला माछाको स्तम्भ, पानीको फोहोरासहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग तथा शान्तिका अग्रदूत गौतम बुद्धको प्रतिमा निर्माण गरी प्राणप्रतिष्ठासमेत गरिएको छ।
हाल मत्स्यपोखरी अवलोकन तथा भ्रमणका लागि जिल्लाभित्र र बाहिरबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक र श्रद्धालु भक्तजन पुग्ने गरेका छन्। यो क्षेत्र पिकनिक तथा पारिवारिक भ्रमणका लागि पनि लोकप्रिय बन्दै गएको छ।
पर्यटन प्रवर्द्धनलाई सहयोग पुग्ने उद्देश्यले गाउँपालिकाले पोखरी आसपासमा घेराबार, पिकनिकस्थल, शौचालय, खानेपानी तथा पोखरीसम्म पुग्ने सडक निर्माण गरेको छ। यहाँको स्वच्छ पानीबाटै सभाखोलामा पाइने असला माछाको बीउ उत्पत्ति भएको स्थानीय विश्वास रहेको छ।
गाउँपालिकाले स्थानीय समुदायसँग सहकार्य गर्दै वातावरण संरक्षणलाई प्राथमिकतामा राखी दिगो पर्यटन विकासमा ध्यान केन्द्रित गरेको जनाएको छ। साथै स्थानीय संस्कृति, परम्परा र मौलिक खानपानको प्रवर्द्धनमार्फत पर्यटकको बसाइ लम्ब्याउने योजना पनि अघि सारिएको छ।
मत्स्यपोखरी क्षेत्रको विकाससँगै स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, आर्थिक गतिविधि बढ्ने र समग्र चिचिला गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आगामी दिनमा थप बजेट विनियोजन गरेर योजनालाई अझ तीव्रता दिइने गाउँपालिकाले जनाएको छ। –रासस




















