धरानः २०७७ चैत ६ गते धरानको महेन्द्र बहुमुखी क्याम्पसकि विद्यार्थी सदिक्षा राई आफ्ना साथीहरूसँगै उत्तरी मोरङको जेफाले पुगिन् । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत राई उक्त दिन खराब भएको सुनाउँछिन् ।

‘गाडिभरी विद्यार्थीहरू जेफाले पुग्यौँ तर कुनै रिसिब भएन न त कुनै रेस्पोन्स’, उनी सम्झन्छिन्, ‘जेफालेको चौरमा विद्यार्थीहरू छाडेर सरले होमस्टे सञ्चालकहरू खोजेर ल्याउनु परेको थियो ।’ अगाडिका वर्षका विद्यार्थीहरूलाई गरिने सत्कार भन्दा पछिलाई गर्ने सत्कारमा फरक पाएको उनले सुनाइन । ‘पहिलेपहिले सांस्कृतिक नृत्य देखी राम्रो सत्कार गरिदोँरहेछ । हाम्रो पालामा आउँदा बिग्रेछ’, राईले गुनासो गरिन् । 

सामान्यतया: शैक्षिक भ्रमणमा अध्ययन र अवलोकन अनि रिपोर्टिङ गर्न आएका विद्यार्थीहरूलाई पर्यटकीय सत्कार गर्ने अनिवार्य चलन हो । त्यही चलन जेफालेमा नपाउँदा आफूलाई अचम्म लागेको राई बताउँछिन् । राईको कुरामा सहमत छन् महेन्द्र बहुमुखी क्याम्पस धरानका आम सञ्चार विषयका लेक्चरर किशोर थुलुङ ।

जेफालेले पर्यटन क्षेत्रमा बामे सर्दैगर्दा आफूले नियमित विद्यार्थीहरू लगेर विद्यार्थी शिक्षा र स्थानीयलाई सहयोग हुनेगरि प्रयत्न गरेपनि जेफालेले क्रमशः सत्कार गुमाउँदै गएको अनुभव थुलुङको छ । ‘होमस्टेमा हुनुपर्ने न्यूनतम सत्कार र समन्वयमा अभाव भएकोले विद्यार्थीहरूको धेरै गुनासो आएकोले जेफाले जान बन्द गरियो’, थुलुङले आफ्नो तीतो अनुभव सुनाए । 

 त्यही तीतो अनुभवले यो वर्ष विद्यार्थीहरूलाई थुलुङले उत्तरी मोरङकै लेटाङ नगरपालिका १ मा रहेको राजारानी क्षेत्रमा लगे । पाँच दर्जन सङ्ख्याको विद्यार्थी तथा शैक्षिक र सवारी जनशक्ति यही मङ्गलवार राजारानी पुगे । त्यही भिडमा एक थिइन सदिक्षा राई । गत वर्ष  प्रथम वर्षकि विद्यार्थी भएर जेफाले पुगेकी उनी यो वर्ष दोस्रो वर्षको विद्यार्थीको तर्फबाट मेन्टर भएर लेटाङको राजारानी पुगिन् । 

‘राजारानी भन्नासाथ धनकुटाको राजारानी भन्ने बुझेको थिए तर उत्तरी मोरङको लेटाङमा पनि राजारानी रहेछ’, राईले भनिन्, ‘यहाँ (राजारानी)को सत्कार जेफाले भन्दा धेरै राम्रो र स्तरीय पाइयो ।’ राजारानीका पर्यटन व्यवसायीले आफै खटेर, जानकारी दिएर धेरै सहयोग गरेको भन्दै राईले खुसी व्यक्त गरिन् ।

विद्यार्थीले निःशुल्क आवास र खानपान नगर्ने भन्दै उनले उनीहरूलाई पर्यटन क्षेत्रका व्यवसायीले सहयोग गर्नुपर्ने बताइन् । 

आम सञ्चारका लेक्चरर किशोर थुलुङले पनि जेफाले भन्दा राजारानीको सत्कार र सहयोग तुलनात्मक रूपमा राम्रो भएको बताए । उनले भने, ‘जेफाले भन्दा राम्रो अनुभव भयो । यसको निरन्तरताको आशा छ ।’

राजारानी ताल क्षेत्र ताल, मन्दिरले मात्रै हैन सुनाखरी, पुतली र हरिणहरूको आकर्षण भएको सुन्दर क्षेत्र भएको थुलुङले बताए । उनले भने, ‘यहाँको मगर संस्कृति र त्यसको नृत्य हुर्रा त झनै सुन्दर छ ।’ थुलुङले एक गाडी विद्यार्थी ८ र ९ गते राजारानी पुगेको भन्दै अर्को एक गाडी १४ र १५ मा राजारानी क्षेत्रमा हुने बताए ।