इटहरी स् पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य गुफापोखरीमा पर्यटकको चहलपहल बढ्न थालेको छ । मौसम खुल्दै गएपछि हिमाली दृश्य अवलोकन, प्राकृतिक सौन्दर्यको आनन्द लिन र चिसो वातावरणमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्न थालेका छन् । सुख्खायाम सुरु भएसँगै अहिले दैनिक एक हजारसम्म पर्यटक गुफापोखरी पुग्ने गरेको स्थानीय व्यवसायी बताउँछन् ।

तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम क्षेत्रमा अवस्थित गुफापोखरी समुद्री सतहबाट करिब दुई हजार आठ सय ९० मिटरको उचाइमा छ । पहाडको काखमा रहेको पोखरी, वरिपरिका हरियाली डाँडाकाँडा, चिसो हावापानी र शान्त वातावरण यहाँका प्रमुख आकर्षण हुन् । मौसम सफा भएका बेला यहाँबाट कञ्चनजङ्घा, मकालु लगायत पूर्वी हिमाली क्षेत्रका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । गुफापोखरी आसपासकै मेन्छ्यायेम डाँडा सूर्योदय र सूर्यास्त नियाल्न सकिने अर्को आकर्षक स्थल हो । मौसम खुलेर हिमाल देखिन थालेपछि पर्यटकको आगमन बढ्ने गरेको गुफा बजारकी हिमा खनाल बताउँछिन् । उनका अनुसार पछिल्लो समय गुफापोखरी घुम्न आउने पर्यटकको संख्या उल्लेख्य बढेको छ ।

गुफापोखरीमा आन्तरिक पर्यटकसँगै विदेशीको आकर्षण पनि बढ्दो छ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य र स्थानीय रहनसहन बुझ्न चाहने विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । यस वर्ष अमेरिका, जर्मनी, क्यानडा, बेलायत, स्पेन र इटलीलगायत मुलुकका दुई सयभन्दा बढी पर्यटक गुफापोखरी आएको खनालले बताइन् । पहिलोपटक गुफापोखरी पुगेकी दमककी सृष्टि राई यहाँको प्राकृतिक सौन्दर्यबाट प्रभावित भइन् । पोखरी आसपासको शान्त वातावरण र मनोरम दृश्यले मनका दुःखपीडा भुलाउने अनुभव भएको उनले सुनाइन् । प्रकृतिसँग नजिक भएर समय बिताउँदा छुट्टै आनन्द मिलेको भन्दै उनले फेरि पनि यहाँ आउने इच्छा व्यक्त गरिन् ।

पर्यटकको आगमन बढेसँगै गुफा बजार र सुके बजार आसपासका होटल व्यवसायसमेत चलायमान भएका छन् । पर्यटकको चाप बढ्दा होटल भरिभराउ हुन थालेको स्थानीय व्यवसायी बताउँछन् । होटल, चियापसल र साना व्यवसायमार्फत स्थानीयले पर्यटकलाई सेवा दिँदै आएका छन् । पर्यटकको आवागमनले दूध, दही, घिउ र छुर्पीजस्ता स्थानीय उत्पादनको बिक्रीसमेत बढाएको छ । पर्यटनलाई स्थानीय कृषि उत्पादन र घरेलु व्यवसायसँग जोड्न सके गाउँको अर्थतन्त्रमा थप टेवा पुग्ने देखिन्छ । गुफापोखरीको आकर्षण मौसमअनुसार फेरिने प्राकृतिक स्वरूपमा पनि छ । वसन्त ऋतुमा आसपासका वनपाखा लालीगुराँसले राताम्मे हुन्छन् भने हिउँदमा हिमपात हुँदा डाँडाकाँडा सेताम्मे देखिन्छन् । गर्मी याममा तराईको उखरमाउलो गर्मी छल्न पुग्ने पर्यटकका लागि यहाँको चिसो हावापानी थप आकर्षण बन्ने गरेको छ । प्राकृतिक विविधता र हिमाली दृश्यले गुफापोखरीलाई बाह्रै महिना घुम्न सकिने सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्ने आधार दिएको छ ।

तर, पर्यटकीय सम्भावनाअनुसार पूर्वाधार विकास हुन नसक्दा गुफापोखरीको पर्यटनले अपेक्षित गति लिन सकेको छैन । विशेषगरी सडकको दुरवस्था यहाँको पर्यटन विकासमा प्रमुख बाधक बनेको छ । वर्षायाममा सडक हिलाम्मे हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । कतिपय पर्यटक सडककै कारण बीच बाटोबाट फर्कनुपर्ने अवस्था रहेको टुटे बजारका श्री कार्की बताउँछन् ।उनका अनुसार सडकको अवस्था सुधार नहुँदा वर्षायाममा तराईबाट घुम्न आउने पर्यटकले बढी सास्ती खेप्नुपर्छ । गुफापोखरीसम्म पुग्ने सडक विस्तार र कालोपत्रे गर्न सके पर्यटकको आवागमन सहज हुनुका साथै होटल तथा स्थानीय व्यवसायको कारोबारसमेत बढ्ने उनको अपेक्षा छ ।

सडकसँगै व्यवस्थित आवास, खानेपानी, सरसफाइ, पर्यटक सूचना केन्द्र र प्रभावकारी प्रचारप्रसारको पनि आवश्यकता देखिन्छ । पर्यटकको संख्या बढ्दै जाँदा आधारभूत सुविधा विस्तार गर्न नसके गन्तव्यको आकर्षणमा असर पर्न सक्ने व्यवसायीको बुझाइ छ । पर्यटकको आगमन बढाउने योजनासँगै गुफापोखरीको प्राकृतिक सम्पदा संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ । पोखरी वरिपरिको फोहोर व्यवस्थापन, पानीको स्वच्छता र जलाधार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो समय पोखरीको पानीको सतह घट्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्दै आएका छन् । पर्यटकीय गतिविधि विस्तार गर्दा प्राकृतिक वातावरणमा पर्ने प्रभाव न्यूनीकरण गर्न नसके गन्तव्यकै अस्तित्वमा चुनौती आउन सक्ने जोखिम छ ।

गुफापोखरी तेह्रथुमको बसन्तपुर हुँदै पुग्न सकिने भए पनि भौगोलिक रूपमा संखुवासभाको चैनपुर नगरपालिका–१ मा पर्छ । त्यसैले यसको पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र प्राकृतिक सम्पदा संरक्षणका लागि सम्बन्धित स्थानीय तहबीच समन्वय आवश्यक देखिन्छ । पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र हिमाली दृश्यले पर्यटक तानिरहेको गुफापोखरीमा सडक पूर्वाधार सुधार, स्थानीय व्यवसायको प्रवद्र्धन र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउन सके यस क्षेत्रको पर्यटनले नयाँ उचाइ लिन सक्छ । अहिले बढेको पर्यटकीय चहलपहललाई वर्षायाममा समेत कायम राख्न सक्नु नै गुफापोखरीको पर्यटन विकासको मुख्य चुनौती हो ।