धरानः धरानको आकाशमा तपाईँले प्याराग्याइडिङ गर्नु भएको होला । हेली राइड गर्नु भएको होला । साइकलमा सफर भने पक्कै गर्नु भएको छैन ।

अब भने तपाँइले यो सुविधा पनि पाउनु हुनेछ । हो– अब धराने आकाशमा साइकल पनि कुदाउन पाइनेछ । र, यसको प्रारम्भ गरेको छ सेछ एडभेन्चर पार्कले ।

धरान २० कालीमाटीमा रहेका दुई डाँडा जोड्ने तारमा सुरक्षित तवरले साइकलमा सरर हुइँकिने व्यवस्था सुरु हुँदैछ । कालीमाटी धरानको प्रसिद्ध हिल स्टेसन चिन्डे डाँडाबाट पूर्वतर्फ रहेको भित्तो हो । 

धराने आकाशमै साइकल सफरको सुविधा मिलाउन भारतीय राजधानी दिल्लीबाट प्राविधिकहरू आएर संरचना निर्माण गरेको बताउँछन् सेछ एडभेन्चर एन्ड होलिडेजका सञ्चालक वासुदेव  बराल । बरालका अनुसार सफल परीक्षण भएको स्काइ साइकल अब केही समयपछि व्यवशायिक रूपमा सञ्चालन हुनेछ ।

धरान छाताचौक माथि रहेको होटल सेछबाट टिकटहरू बिक्री गरिने बरालले बताए । पार्कमा स्काइ साइकल मात्रै हैन बर्मा ब्रिज, जिप लाइन, स्काइ वाक जस्ता अन्य रोचक तथा रोमाञ्चक साहसिक पर्यटनका गतिविधिका पूर्वाधारहरू बन्ने क्रममा छन् ।

हालसालै बर्जा ब्रिज देखी स्काइ साइकलको परीक्षण सञ्चालनमा सहभागी भएका धरानका युवा उमेश भण्डारी मक्ख देखिए ।

परीक्षणमा सहभागी भएपछि उनले नेपाल टुरिजम प्लससँग भने, ‘विदेशमा मात्रै हेर्दै आएको पर्यटन सेवा आफ्नो गृहनगरबाटै सञ्चालन भएकोमा ज्यादै खुसी छु । यो सेवा धरान, इटहरी, विराटनगर लगायत प्रदेश १ लाई मात्रै नभएर विहार देखी पश्चिम बङ्गालका सीमावर्ती भारतीयलाई समेत रोचक हुनेछ ।’

पार्ककी अर्की सञ्चालक एलिना मगरले स्काइ साइकलको व्यवशायिक शुल्क एक हजार हाराहारीसम्म हुनसक्ने बताइन । अहिलेनै शुल्क नतोकिएको बताउँदै मगरले सेछ पार्कका साहसिक प्याकेज प्रदेश १ कै सबैभन्दा सस्ता र सहज हुने बताइन ।

धरानको स्काइ साइकलको लम्बाइ १ सय ५० मिटर  छ । यसले कालीमाटीका दुई डाँडा जोड्छ  । डाँडा बिचमा रहेको खोँचको खोलामाथिबाट हुने यात्रा निकै रोमाञ्चक हुने परीक्षण साइकलमा आफै सहभागी भएकी सञ्चालक मगरले बताइन ।