इटहरी। पछिल्लो समय पाँचथरको फालेलुङ गाउँपालिकमा रहेको ‘चारराते’ आन्तरिक एवं भारतीय पर्यटकहरूको रोजाइमा परेको छ ।
समुद्र सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा रहेको यहाँको प्राकृतिक सौन्दर्यताले आन्तरिकका साथै सीमापार भारतीय पर्यटकहरूलाई समेत आकर्षित गर्ने गरेको छ । चारराते प्राकृतिक रूपमा आफैंमा मनमोहक र सुन्दर छ । यहाँबाट देखिने सुन्दर हिमाली शृङ्खलाहरूले यस ठाउँको महत्त्वलाई थप आकर्षित बनाउँछ । यहाँका पाटन, चौर र बुकीहरूमा चौंरी चरिरहेको दृश्यले पर्यटकलाई लोभ्याउँछ । जलजले, झण्डा लगायका पोखरी यस ठाउँका गहना हुन् । नजिकै रहेको सन्दकपुर, आहाल जस्ता ठाउँले यहाँ पुग्ने पर्यटकहरूलाई थप उत्साहित र रोमान्टिक बनाउँदछ । दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारीसाधन मार्फत यो ठाउँमा सजिलै पुग्न सकिन्छ ।
समुद्र सतहदेखि ३ हजार ५ सय मिटर उचाइम रहेको यो ठाउँको सौन्दर्यताले तानिरहेकोछ । भारतसँग सिमाना जोडिएको यो ठाउँ घुम्नका लागि भारतीय पर्यटकहरू भारतकै बाटो भएर आउँछन् । नेपालीहरू भने सदरमुकाम फिदिमबाट भैँसे हुँदै त्यहाँ पुग्छन् । इलामबाट सन्दकपुर हुँदै पनि यहाँ पुग्न सकिन्छ ।पर्यटन व्यवसायी विमल गुरुङका अनुसार पर्यटकको चाप बढेसँगै यस क्षेत्रका होमस्टे, होटल लगायत भरिभराउ छन् भने सडकमा गाडीको चाप समेत छ । यहाँ १ वैशाखमा चौंरी महोत्सव पनि लाग्छ । ‘चौँरी महोत्सव लगाएर यो क्षेत्रमो प्रवर्द्धनका लागि प्रयास गरिरहेका थियौँ । अहिले यो क्षेत्रले धान्ने नसक्ने गरी आन्तरीक र वाह्य पर्यटक आउन थाल्नु भएको छ । यो हाम्रोलागि खुसिको कुरा हो’ स्थानीय शिल्प राइले भने ‘पर्यटकको वृद्धिसँगै यहाँ व्यवस्थापनको चुनौती थपिँदै गएको छ ।’


















