पोखराः  २०७२ सालमा नेपालमा संविधान घोषणाको तयारी हुँदै थियो । पोखराका अजित बराललाई भने विश्व साइकलमा सफर गर्ने योजना कार्यान्वयन हुँदै थियो । उनी भारत हुँदै विश्व भ्रमणमा निस्किए । रोचक कुरा त्यो बेला उनीसँग जम्मा एक  हजार डलर मात्रै थियो । त्यो भनेको तत्कालीन समयमा एक लाख रुपैयाँ हाराहारी हो । एक लाख रुपैयाँबाट उनले एउटा राम्रो मोबाइल किने । 

मोबाइल किन्नुको उद्देश्य जहाँ जहाँ पुगिन्छ त्यहाँको राम्रो तस्बिर लिने र फोन संवाद गर्ने दुवै थियो । उनीसँग मोबाइल किनेपछि बाँकी रह्यो ७५ हजार रुपैयाँ । हो, त्यही पैसाबाट उनले विश्व भ्रमण गरे । विश्वका छ महादेश पुगे । अहिलेसम्म ७१ देश घुमेका छन् । कोभिड महामारीले हिँडडुल बन्द भएकोले उनी गृहनगर पोखरामै बस्न बाध्य भएका छन् । स्थिति सामान्य हुनासाथ यी ३४ बर्से साइकल यात्री पुनः यात्रामा फर्कनेछन् । 

पाँच वर्षमा ७१ देश हिँडेका बरालले दैनिक १५० किलोमिटर औसतमा साइकल चलाए । एकपटक सबैभन्दा धेरै २५० किलोमिटर चलाए । त्यो दिन बिहान ७ बजेबाट साँझ ६ बजेसम्म निरन्तर साइकल कुदाएको उनी बताउँछन् । उनले ७१ देश यात्राको दौरानमा छ वटा त साइकल फेरे । कतिपय चोरी भए । कतिपय बिग्रिए । कतिपय भने उनलाई उपहार आयो । साइकल यात्रा सुरुमा उनले १५ हजारको साइकलमा यात्रा गरे । उनले सबैभन्दा महँगो सौजन्यमा पाएको २८ लाखको साइकल सम्म चढेको बताउँछन् । आफूले सबैभन्दा महँगो साइकल भने ५४ लाख सम्मको देखेको उनी बताउँछन् । 

७५ हजार रुपैयाँमा ७१ देशको विश्व भ्रमण कसरी सम्भव भयो? 
यो प्रश्नमा बराल सहज उत्तर दिन्छन् । उनलाई कसैले खानामा सहयोग गरे । कसैले सुत्न । कसैले भिजा शुल्क तिरिदिन । कसैले  साइकल नकुद्ने समुन्द्र क्षेत्रमा हवाई टिकट प्रयोजन गर्न । सबै क्षेत्रमा उनलाई स्थानीयहरूले सहयोग गरे । विभिन्न देशका स्थानीय देखी गैरआवाशिय नेपालीहरूले समेत उनलाई सहयोग गरे । त्यही सहयोगकै कारण उनलाई ७५ हजार बोकेर ७१ देश पुगेर आउन सहज भयो । 

उनलाई कत्तिसम्म सहयोग भयो भने लाओसमा दुर्घटना भएर उनको अगाडिका दुई दाँत खसे । त्यी दाँत लाउनसम्म उनलाई सहयोग भयो । ‘मेरो अगाडिका दुई दाँत छ लाखका हुन’, बराल हाँस्दै भन्छन्, ‘यो दाँत मलाइ अमेरिकामा सहयोग गरेर लाइदिएका हुन ।’

उनलाई माल्दिप्समा भएको सहयोग झन् रोचक छ । उनी ‘अन अराइभल भिजा’ लिन भारतबाट माल्दिप्स पुगे । माल्दिप्सको पर्यटक भिजामा उनलाई होटेल बुकिङ देखी आइटिनरी (यात्रातालिका) मागियो । उनीसँग केही थिएन । महँगो माल्दिप्समा उनले आफ्नै खर्चमा जाने सम्भावना पनि थिएन ।

उनलाई अध्यागमनमा आठ घण्टा राखिदियो । यस्तैमा अध्यागमन कार्यालयको टिफिन टाइममा एक कर्मचारीले उनलाई इन्टरनेट जडित मोबाइल दिए । २० मिनेट मोबाइल चलाऊ । जहाँ जे गर्नु गर । त्यसपछि तिमीले समाधान निकाले माल्दिप्स घुम्छौँ नत्र फिर्ता हुन्छौ भनेर त्यी युवा कर्मचारीले भने । मोबाइल पाएपछि बरालले टाइप गरे ‘नेपाली इन माल्दिप्स’ । नभन्दै नेपालीको एक होटेल रहेछ । उनले सम्पर्क गरे । तत्काल होटेल बुकिङ र यात्रा तालिका दिए त्यी नेपालीले । र, बराल फिर्ता पठाइनबाट जोगिए । 

विश्वका ७१ देश पुग्ने साइकल सफल गरेका बरालको सन्देश छः यात्रामा बोसो जालाउनुहोस । पेट्रोल नजलाउनुहोस् । साइकल यात्राबाटै यो सम्भव हुने उनी बताउँछन् ।