बसन्तपुरः तेह्रथुमको लालीगुराँस नगरपालिकाले ४१५० मिटर उचाईमा बैठक आयोजना गरेको छ । मेयर अर्जुनबाबु माबुहाङ, वडा नम्बर ७ का अध्यक्ष तथा नगर प्रबक्ता देबेन्द्र खड्का लगायत विभिन्न विज्ञहरुसम्मेलित बैठक भएको थियो । संखुवासभाको सभापोखरी परिषरमा भएको बैठक सभापोखरीको टापु क्षेत्रमा भएको थियो । बैठकमा लालीगुराँस नगरपालिका क्षेत्रकै स्थानिय तथा हाल चीनमा वातावरण विज्ञानमा विद्यावारिधि गर्दै गरेका अध्येता दीपक खड्का देखी टिएमजे क्षेत्रको गुराँसको अनुसन्धान समेत गरेका वनपस्पतिविज्ञ कमल मादेन,डकुमेन्ट्रीमेकर जीवन श्रेष्ठ ‘फिरन्तेः अ ट्राभलर’, लालीगुराँस नगरपालिकाका पूर्व कार्यपालिका सदस्य कासाङ वाङचुक शेर्पा  लगायत सहभागी भएका थिए । 

चोःलुङ पार्क देखी मेन्छ्यायेम, असाङलुङ, सेमसेमलुङ,फत्ताङलु– केलाङ सित्लाङ क्षेत्र जस्ता मुन्धुमि ल्याण्डमार्कको तेह्रथुम, संखुवासभा देखी ताप्लेजुङ सम्मको यात्राका क्रममा  सभापोखरीमा बैठक बसेको हो । लिम्बु भाषामा सया वरक भनिने सभापोखरीमा बैठक बस्नु अगाडि मेयर माबुहाङले मुन्धुम पढेका थिए । 

बैठकमा प्रदेश १ का तेह्रथुम, संखुवासभा र ताप्लेजुङ क्षेत्रका मुन्धुमि ल्याण्डमार्क, त्यहाँको जैविक विभिधता, प्राकृतिक सौन्दर्य देखी पर्यटकि खुराकहरुको व्यवशायिक संवावना र प्रबद्र्धनका कुरा भएका थिए । बैठकमा बोल्दै वनस्पतिविज्ञ कमल मादेनले तीनजुरे मिल्के जलजले क्षेत्र भन्दा वृहत्तर विकासको लागी मुन्धुम मार्ग सहि भएको बताए ।

चीनमा वातावरण विज्ञानमा विद्यावारिधि गर्दै गरेका दीपक  खड्काले मन्धुम मार्ग लिम्बुका मात्रै नभएर सबैको र खासगरि वातावरण क्षेत्रका लागी त ज्यादै महत्वपुर्ण भएको बताए ।

लालीगुराँस मेयर माबुहाङले प्रदेश १ का मुन्धुमि क्षेत्रका पालिकाहरुले गोठलाई व्यवस्थित गरेर पाहुना घर बनाउने, केहि सुन्दर पाटीहरु निर्माण गर्ने र बाटो तथा संकेतहरुका पुर्वाधार विकास गर्ने हो भने मुन्धुममार्गको धेरै ठूलो भविष्य हुने बताए । उनले भने, ‘राज्यले पाँच दश करोडका पर्यटकिय पुर्वाधार बनाएमा धेरै राम्रो पर्यटन चलहपलह हुन्थ्यो ।’ 

लालीगुराँस नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का अध्यक्ष देवेन्द्र खड्काले ४१५० मिटर उचाईका बैठकका एजेन्डाहरुलाई कार्यपालिकाले अनुमोदन गरेर काम अगाडि लाने बताए । स्थानिय सरकारको सबैभन्दा अग्लो स्थानमा भएको यहि बैठक पहिलो भएको भन्दै खड्काले बैठकले मुन्धुममार्गको प्रबद्र्धनमा आवाज उठाउने प्रमख लक्ष्य राखेको बताए ।