धनकुटा | पूर्वी पहाडको धनकुटामा रहेको नमस्ते झरना कुनै समय आन्तरिक तथा भारतीय पर्यटकको लोकप्रिय गन्तव्य थियो । गर्मी मौसम सुरु भएसँगै यहाँ पर्यटकको घुइँचो लाग्ने, झरनाको चिसो पानीमा रमाउने र परिवार–साथीभाइसँग समय बिताउनेहरूको भीड देखिन्थ्यो । तर अहिले झरना सुनसान जस्तै बनेको छ ।
गत वर्ष आएको बाढीले झरनासम्म पुग्ने सिँढी र पुल बगाएपछि यहाँको पहुँच जोखिमपूर्ण बनेको छ । साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा रहेको झरनासम्म पुग्न अहिले अस्थायी रूपमा बाँस र काठको संरचना बनाइए पनि ती दिगो समाधान हुन सकेका छैनन् । त्यसैले पर्यटकको आवागमन उल्लेख्य रूपमा घटेको नमस्ते झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताए ।
पर्यटक घटेपछि झरना आसपास सञ्चालनमा रहेका होटल तथा लजहरू पनि प्रभावित भएका छन् । होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुका अनुसार झरनाको पछिल्लो अवस्थाले स्थानीय पर्यटन व्यवसायमा असर परेको छ ।
यद्यपि, झरनाको पुनर्निर्माणका लागि स्थानीय र प्रदेश सरकारले पहल थालेका छन् । साँगुरीगढी गाउँपालिकाले १० लाख र कोशी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार झरनासम्म सुरक्षित पहुँच बनाउन ट्रस पुल निर्माण गर्ने योजना अघि बढाइएको छ ।
कोशी राजमार्ग अन्तर्गत भेडेटार–सिम्सुवा खण्डको नमस्ते गोलाईबाट करिब एक किलोमिटर पैदल दूरीमा रहेको यो झरना प्राकृतिक सौन्दर्यका साथै स्थानीय अर्थतन्त्रको आधार पनि हो । सुरक्षित पूर्वाधार र उचित व्यवस्थापन गर्न सके पुनः नमस्ते झरना पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।




















