सन्जिप तिम्सिना 

भोजपुर / भोजपुरको टेम्के डाँडा यति खेर बेहुलिझै सिँगारिएको छ । बसन्त ऋतु लागे सँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको सिमानामा रहेको टेम्के डाँडाले बेहुलीझै सिँगारिएर आन्तरिक तथा बाह्य पर्यटको मनै लोभ्याउने गरेको छ ।

असार साउनको समयमा हरियाली  डाँडा भएर डाँडा हरियाली देखिन्छ । त्यो समयमा पुग्ने पर्यटकको मनै तान्ने गर्दछ भने यहाँ ३२ प्रजातिका गुराँस फुलेर डाँडा काडा राताम्मे हुने गरेको छ । चखेवाभञ्ज्याङदेखि टेम्के जाने सडक निर्माण भएको छ आदि घण्टा देखि १ घण्टामा टेम्के डाँडाको चुचुरो मै पुगिन्छ । टेम्के चुचुरो पुग्न पैदलै हिँडेर दुईदेखि ३ घण्टामा पुग्न सकिन्छ । चखेवा र टेम्केबीच करिब ९ सय मिटर फरक छ । बाटो ढुंगाले छापिएको छ । चुचुरो पुग्न नसक्नेले चखेवामै रमाइलो गरेर फर्कन्छन् । धरान  इटहरीबाट ७/८ घण्टामा (२०० किमी) पार गरेर पुग्न सकिन्छ । 

खोटाङ सदरमुकाम दिक्तेलदेखि ४८ किमि पूर्व र भोजपुर सदरमुकामदेखि ४२ किलोमिटर पश्चिममा पर्छ टेम्के । खोटाङको खिदिम, चियानडाँडा र रतन्छा र भोजपुरको गोगने, नागी, खावा र लेखर्कको बीचमा पर्छ यो ।

टेम्के डाँडाको ओडार मुनि देविथान छ जुन देविथानमा परेवा उडाई आफ्नो मनोकांक्षा पूरा होस् भनी भाकल गर्दछ्न् । यो डाँडाको आकर्षक पक्ष भनेको समुन्द्र सतहदेखि ३१ सय मिटरको उचाईमा रहेको छ । यहाँबाट आखैको डिलमुनिझै देखिने ३३ वटा हिमश्रङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट ८ हजार मिटर भन्दा अग्ला हिमालहरु कंचनजंघा, मकालु, ल्होत्से, सगरमाथा, चोयु र ल्होत्सेसारको एकैपल्टमा र्दृश्यावलोकन गर्न सकिन्छ । साथै तराईको सुन्दर फाटहरु यहाँबाट देख्न सकिन्छ ।टेम्के डाँडा

टेम्के डाँडालाई व्यवस्थित गर्न खोजिएको तथापी डाँडामा प्राविधिक हिसाबले ३२ तलाको भ्यु टावर बन्न असफल भएको देखिन्छ ।टेम्के डाँडा र टेम्के डाँडामा रहेको मन्दिर संरक्षण गर्दै टेम्के आउने पर्यटकलाई सहजतामा लागि बाटो निर्माण देखि गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्दै जाने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । यहीँ क्षेत्रलाई प्रचार प्रसार स्वरूप मुन्धुम पदमार्ग भ्रमण वर्ष  २०२५ लाई मनाउने भएको उहाँको भनाइ छ ।

पहिला भन्दा अहिले सुगम रहेको पर्यटक तथा कलाकार कमलीकान्त भेटवालले बताउनुभयो ।  यहीँ रहेका मुन्धुम पदमार्ग , चखेवा डाँडा, मैयुङ डाँडामा पनि गुराँस फुल्ने गर्दछ । चखेवा डाँडाबाट मुन्धुम पदमार्ग जान सकिन्छ ।

भोजपुर र खोटाङको संगमस्थलमा पर्ने ट्याम्के समुन्द्र सतहदेखी ३ हजार १० मिटर अग्लो ठाउँमा ट्याम्के डाँडाँ पर्छ । मन्दिरको नजिकै परेवा उडाउने तथा बली पूजा गर्ने ठाउँ छ । केही समयसम्म यहाँ जोगी बस्ने गरेका थिए । भाकल पूरा गर्न यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यस क्षेत्रको दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ वालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्छ । मानिस यहाँ सदविज छर्न पुग्छन् । यो डाँडाँमा आएर दही चिउरा खादा मृत्यु पछाडी स्वर्गवास पुग्ने किंबदन्ती रहेको छ ।टेम्के डाँडा

टेम्केमैयुङ गाउँपालिकाले‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार” भन्ने मुल नारालाई लिएर अगाडि बढिरहेको छ । यसै सन्दर्भलाई लिएर गाउँपालिकाले पर्यटन पर्वद्धन गर्न चखेवा भञ्ज्याङमा बैशाख १ गतेदेखि कृषि, पर्यटन र संस्कृति महोत्सव बैशाख ३ सम्म आयोजना गरेको थियोे  ।

टेम्के डाँडालाई संरक्षण गर्दै जाने र गाउँपालिकाले पर्यटकका लागि सहजता थप्दै जाने गाउँपालिका उपाध्यक्ष रमादेवि राईले बताउनुभयो । गाउँपालिका मुन्धुम पदमार्ग जाने पर्यटकको सुचना केन्द्र समेत निर्माण गर्दै गरेको उहाँको भनाइ छ ।

भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ।

खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ।

पुर्वबाट धरान , भेडेटार , धनकुटा हिले हुँदै भोजपुर बजारबाट पश्चिम खोटाङको जाने सडकमार्ग हुँदै चखेवा भन्ञ्याङ बाट जान सकिन्छ । चखेवामा रहेको होमस्टेमा बास बसेर अर्को दिन मुन्धुम जान सकिन्छ । यता, काठमाडौंबाट खोटाङ दिक्तेल चखेवा भएर पनि मुन्धुम जान सकिन्छ ।

पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । मुन्धुम पदमार्ग क्षेत्रका विभिन्न स्थानमा विविध तिथि र दिनहरूमा धार्मिक-सांस्कृतिक तथा विशुद्ध मनोरञ्जनात्मक मेला लाग्छन् । पदमार्गमा पर्ने खर्कमा मौसमी गोठहरू छन् ।