भोजपुर / मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि आगामी २०८१ बैशाख १ गतेदेखि बैशाख ३ गतेसम्म महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको स्टल रहने छन् ।

महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र ,स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , बाघखोरबाट चखेवासम्म मुन्दुम दौड, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।मुन्धुम पदमार्ग भ्रमण वर्ष  २०२५ लाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको उनको भनाइ छ । 

महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी रहने आयोजना समितिका अध्यक्ष आई कुमार राईले बताए।

गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिव १३ लाखको लागतमा महोत्सव हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले  बताए । करिव ५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ ।

टेम्केमैयुङ गाउँपालिका एकउटा कृषिको उर्वर भुमि हो हामी टेम्केमैयुङका कार्यपालिका सदस्य पुर्ण टिम लागेर अगाडि बढेको टेम्केमैयुङ गाउँपालिका ५ का वडा अध्यक्ष तथा आयोजकका सदस्य सुनिल राईले जानकारी दिए ।

टेम्केमैयुङ गाउँपालिकाले‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार” भन्ने मुल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

महोत्सवस्थल चखेवा इटहरीबाट ८ घण्टामा (२०० किमी) पार गरेर पुग्न सकिन्छ । त्यस्तै काठमाडौंबाट करिब १० घन्टा (३०० किमी) दूरीमा छ ।