सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतराधाममा आजदेखि सुरु भएको महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

१२ वर्षमा लाग्ने मेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताए

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकाे एतिहासिक, पर्यटकिय तथा धर्मिक क्षेत्रकाे रूपमा रहेको चतराधामकाे महत्त्व कुम्भ मेला सञ्चालनबाट बढेको उल्लेख गरेका छन् । 

मंगलबारदेखि यहाँ सुरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भमेलाको उद्घाटन गर्दै राष्ट्रपति पाैडेलले साे कुरा बताएका हुन्  । उनले कुम्भ प्रारम्भ भएको पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गरेका गरेका थिए  । 

राष्ट्रपति पौडेलले कार्यक्रमकाे सम्बाेधन गर्दै  धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना स्थापना गर्नु रहेको उल्लेख गर्दै  द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको विचार व्यक्त गरे। 

नेपालमा कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले शास्त्रमा प्रमाण भेटिए अनुसार  चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार रहेको बताए । उनले शास्त्रीय प्रमाणकाे गहन अध्ययान पछिकाे आधारमा  यहाँ कुम्भमेला लगाउन सुरु गरिएको उल्लेख गर्दै  मेलामा सहभागी बनेर पुन्यप्राप्त गर्न सबै नेपालीमा आग्रह गरे ।

मेलाका लागि सरसफाई, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत तथा सञ्चार सुविधा, शान्ती सुरक्षा तथा विपद जोखिम न्यूनिकरणका लागि पहल भएको साथै मेला अवधीभर चतरामा मदिरा माछा,मासु विक्री वितरणमा निषेध गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश  कार्कीले उल्लेख गरे । उनले मेलामा नेपाल अधिराज्यभरी तथा विदेशी भुमीबाट समेत दर्शनका लागि आउने भएकाले यसको महत्व अझै बढेर जाने बताए  । 

 पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरि लाखौं  धार्मिक भक्तजनको मेलामा सहभागिता रहने  उल्लेख गरिएको छ। मेला चैत २७ देखि बैशाख २८ गते सम्म एक महिनाका लागि  लाग्नेछ । मेलामा दर्बिलो सुरक्षा व्यवस्था गरिएको आयाेजकले बताएको छ ।  धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरु सहभागी भएका छन्  । 

यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ  । नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रूपमा २०५९ चैत्र ६ गते देखी एक महिना  सम्म सञ्चालन भएको थियाे ।