भोजपुर ।  भोजपुर सोलुखुम्बु खोटाङ र संखुवासभा जिल्लाको संगम स्थलमा अवस्थित किराती समुदायको पवित्र मुन्दुमी धार्मिक तथा सास्कृतिक स्थल साल्पा सिलिचुङ सिलिछो संरक्षण र प्रबद्र्धनको अभावमा रहेको छ । यसै विषयलाई मध्यनजर गर्दै साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रबद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले यस क्षेत्रलाई किरात सास्कृतिक सम्पदाको रुपमा विकास तथा प्रबद्र्धन गर्ने उदेश्यका साथ जनस्तरको सहयोगबाट महाअभियान सुरु गरेको छ ।

मुन्दुम र रिसियामा प्रसस्त आउने र फलाकिने मुन्दुमी साया साल्पा पोखरी र सिलिचुङ समुद्र सतहसेखी ३७५० र ४१५५ मिटरको उचाईमा रहेको छ । यस क्षेत्र भोजपुर जिल्लाको साल्पा सिलिछो गाउपालिकाको वडा न ५ पुरानो दोभाने गाविस अन्तर्गत पर्दछ । प्रकृति एवं पुर्खा पुजक किराती समुदायमा मुन्दुमको उत्पत्ति केन्द्र साल्पा सिलिचुङ रहेको जनविश्वास छ । आदिम किराती श्रीष्टिकर्ता सुम्निमा र पारुहाङको सर्वप्रथम यही साल्पा–सिलिचुङमा नै भेट भएको थियो भन्ने मुन्दुममा पाइन्छ । मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा, साल्पाहाङ ,रिब्रिहाङमा साल्पा राजा र साल्पा रानी जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङ नै आदिम थलो तथा बासस्थान रहेको मुन्दुमी मान्यता रहेको छ ।                                               1712233894805

किरातीहरुको सांस्कृतिक नायक नछुङ, माङ्पा धामी बिजुवाहरु वर्षेनी कार्तिक पुर्णिामा , वैशाख पुर्णिामा र भाद्र पुर्णिाममा मुन्दुमी शक्ति नविकरण गर्न साल्पा सिलिचुङ जाने गर्दछन ।  किरातीहरुको पवित्र ऐतिहासिक धार्मिक तथा मुन्दुमी स्थल साल्पा सिलिचुङ धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तथापि यस क्षेत्रमा हालसम्म राज्यको तर्फबाट कुनै पनि किसिमका सहयोग तथा संरक्षण र प्रबद्र्धनको योजना परेको छैन । तसर्थ यस ऐतिहासिक धार्मिक तथा सास्कृतिक क्षेत्रको संरक्षणमा साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रबद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिती लागि परेको छ । यस क्षेत्रलाई किरात सम्पदाको रुपमा संरक्षण तथा प्रबद्र्धन गर्न साल्पा सिलिछो गाउपालिका भोजपुर र साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रबद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितीको संयुक्त आयोजनामा यस परियोजना सञ्चालन भइरहेको साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रबद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितीका अध्यक्ष मुलघरे कान्छा राजेन खिम्बिुले राइले जनाएका छन् ।                                             1712233772840

किराती समुदायमा साल्पा सिलिचुङ सिलिछो क्षेत्रमा जीवनकालमा एकपटक अवश्य पुग्नैपर्छ भन्ने जनविश्वास रहेको छ । साल्पा सिलिचुङ संरक्षण तथा प्रबद्र्धन महाअभियान अन्तर्गत साल्पा पोखरी र सिलिचुङमा सुम्निमा पारुहाङको प्रतिमा निर्माण , तीनचुला सहितको मुन्दुमी माङखिम पुजाथान निर्माण , वाबुक सोलोन्वा आकारको मुन्दुमी गेट निर्माण , मुन्दुमी नछुङ अर्थात विजुवाको प्रतिमा निर्माण , नछुङ माङ्पाले सिलिचुङमा सिलि नाच्ने स्थल निर्माण , मुन्दुम संग्रहालय निर्माण साथै आदिम किराती पुर्खाहरु र विभिन्न मुन्दुमी मिथकिय पात्रहरुको प्रतिमा निर्माण गर्ने साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रबद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मुलघरे कान्छा (राजेन खिम्बुले राइ) बताउछन् ।

जसअन्र्तगत साल्पा सिलिचुङमा सुम्निमा पारुहाङको र नछुङको प्रतिमा अनावरण यहि वैशाख ६ र ७ गते वृहत रुपमा हुने भएको छ । त्यस्तै दोश्रो चरणमा साल्पा सिलिचुङ सिलिछो वृहत सास्कृतिक अध्ययन अनुसन्धानको पहिलो अंक मुन्दुमी मिथक संग्रह पुस्तक वैशाख १४ गते विमोचन गरिनेछ । खोटाङ भोजपुर संखुवासभा र सोलुखुम्बु गरि चार जिल्लाहरुको सङ्गमस्थल समेत रहेकाले यस क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । यहाबाट मकालु , कंचनजङ्घा , सगरमाथा , लगाएतका हिम शृङ्खला साथै प्रकृतिको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ भने मुन्दुम पदमार्गको अन्तिम विन्दु समेत साल्पा सिलिचुङ सिलिछो रहेको छ । यस महाअभियानको गुरुयोजना अनुरुप सम्पुर्ण  निर्माण कार्य सम्पन्न भएपश्चात साल्पा सिलिचुङ क्षेत्रमा धार्मिक तथा बाह्य पर्यटकको आवगमन वृद्धि हुने प्रवल सम्भावना रहेको छ ।