सोलुखुम्बु / सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ।

विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्यांकअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए। यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिए। उनका अनुसार गत वर्ष पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए।

यस वर्षको सोही अवधिमा एक सय २० नेपाली र एक हजार दुई सय नौ विदेशी खुम्बु पुगेका कार्यालयको तथ्यांक छ। विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ।

यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ। यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ।

गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ। याममा दैनिक नौ सयदेखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सातजना पर्यटकमात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिए।

विदेशी तथा स्वदेशी पर्यटकको आर्कषण अधिक हुँदा भ्याइनभ्याई हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए।

यसका कारण पर्यटकीयस्थलका होटल पसलमा ताला लागेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यन्त्र जाँदा खुम्बु सुनसान बनेको उनको भनाइ छ । 

इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजनकुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्र पनि चिसो सुरु भएसँगै प्रायः सुनसान छन्। यो समयमा आफ्नो कार्यालयमा सेवाग्र्राही नगन्य मात्रामा आउने गरेको उनको भनाइ छ। चिसो छल्न मंसिर पहिलो साताबाटै काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेको खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले बताए।

गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन् भने त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मंसिरको पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताए।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधैँ काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय उमा बराइलीले बताए । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ ।