इटहरी।  हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश आफैँमा एउटा विशाल खुला सङ्ग्रहालय हो । यहाँका पहाडमा सुनिने मुन्दुमदेखि तराईका थारू, राजवंशी, धिमाल र सन्थाल समुदायका लोकसंस्कृतिसम्म पुग्दा एउटै प्रदेशभित्र दर्जनौं मौलिक सभ्यता, भाषा, संस्कार, पोशाक, नाच, बाजा, खानपान र जीवनपद्धति भेटिन्छन् । तर यीमध्ये अधिकांश सम्पदा अझै व्यवस्थित संग्रहालयको चार चौघेराभित्र प्रवेश गरेका भने छैनन् ।

नेपालको राष्ट्रिय जनगणना २०७८ ले देशभर १ सय ४२ जातजाति रहेको तथ्यांक छ भन्ने पुष्टि गरेको छ । कोशी प्रदेशमा मात्रै १ सय ३० जातरजातीय समूह अभिलेख हुनु प्रदेशको असाधारण जातीय विविधताको संकेत पनि हो । देशमै बागमती प्रदेशमा १ सय ३६ जातजाति छन् भने कोशी प्रदेश बागमती पछि सबैभन्दा धेरै जातजाति भएको प्रदेशमा पर्दछ । जहाँ १ सय ३० जातजातिको बसोबास छ तर ती सबै जनजाति मात्र चाँहि होइनन् । यही विविधतालाई पर्यटनसँग जोड्ने हो भने कोशी प्रदेशका गाउँ, टोल, घर, गुम्बा, मन्दिर, सांस्कृतिक स्थल, नाच, पर्व र परम्परागत पेशा स्वयं ‘खुला सङ्ग्रहालय’ बन्न सक्छन् ।

१४ जिल्ला, एउटै प्रदेश तर सयौं सांस्कृतिक कथा

झापा, मोरङ र सुनसरीको समथर तराईदेखि इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ र उदयपुरका पहाड हुँदै ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङको हिमाली भूगोलसम्म फैलिएको कोशी प्रदेशको सांस्कृतिक भूगोल अत्यन्त फराकिलो छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार यहाँ राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, राजवंशी लगायत विभिन्न समुदायको बसोबास छ र नेपालीसँगै मैथिली, किराती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर तथा थारू भाषाहरू पनि प्रयोगमा छन् ।

त्यसैले कोशीमा सङ्ग्रहालय खोज्न एउटा मात्र भवनमा पुगेर हुँदैन । भोजपुरको राई बस्ती, ताप्लेजुङको लिम्बू सांस्कृतिक भूगोल, इलामको लेप्चा बस्ती, सोलुखुम्बुको शेर्पा गाउँ, संखुवासभाको याक्खा–ल्होमी संस्कृति, धनकुटाको आठपहरिया जीवनशैली, झापा–मोरङको राजवंशी–धिमाल–मेचे संस्कृति र सुनसरीको थारू सभ्यता, यी सबैलाई एउटै ठूलो सांस्कृतिक नक्सामा राख्न सकिन्छ । यही अवधारणा हो, खुला सङ्ग्रहालय पर्यटन ।

राई संस्कृति स् मुन्दुमदेखि साकेलासम्म

कोशीको सांस्कृतिक पहिचानको एउटा महत्वपूर्ण आधार राई समुदाय हो । राष्ट्रिय जनगणना २०७८ मा नेपालभर राईको जनसंख्या ६,४०,६७४ अभिलेख भएको छ । भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, संखुवासभा र धनकुटालगायतका जिल्लामा राई समुदायका विभिन्न समूहको ऐतिहासिक बसोबास छ । राई समुदाय आफैंमा एउटै सांस्कृतिक संरचना होइन । बान्तावा, चाम्लिङ, कुलुङ, खालिङ, थुलुङ, साम्पाङ, नाछिरिङ, बाहिङ, आठपहरिया, मेवाहाङ, याम्फू, लोहोरुङलगायत विभिन्न भाषिक तथा सांस्कृतिक समूहले राई पहिचानलाई अझै विविध बनाएका छन् । यहाँको मुन्दुम, साकेला नाच, उभौली र उधौली पर्व प्रकृति, कृषि, पितृ र समुदायसँग जोडिएको जीवनदर्शन हुन् । यदि भोजपुर वा खोटाङको कुनै गाउँमा स्थानीय समुदायले आफ्ना पुराना घर, अन्न राख्ने भकारी, कृषि औजार, बाजा, पोसाक, पूजास्थल, मुन्दुम परम्परा र साकेला नाचलाई जीवित रूपमा पर्यटकलाई देखाउन सक्छ भने त्यो सङ्ग्रहालय भवनभन्दा फरक तर अझै जीवन्त सङ्ग्रहालय बन्न सक्छ।

लिम्बू संस्कृति स् मुन्धुम, च्याब्रुङ र चासोक तङनाम

पूर्वी पहाडको सांस्कृतिक भूगोलमा लिम्बू समुदायको उपस्थितिले छुट्टै पहिचान निर्माण गरेको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभादेखि झापा, मोरङ र सुनसरीसम्म लिम्बू समुदायको बसोबास पाइन्छ । लिम्बू संस्कृति बुझ्न मुन्धुम, श्रीजङ्गा लिपि, च्याब्रुङ, धान नाच र चासोक तङनाम महत्वपूर्ण आधार हुन् । विशेषतः चासोक तङनामलाई कृषि, प्रकृति र सामुदायिक जीवनसँग जोडिएको सांस्कृतिक अनुभवका रूपमा पर्यटनमा प्रस्तुत गर्न सकिन्छ । ताप्लेजुङको मामाङ्खेमा रहेको लिम्बू सांस्कृतिक संग्रहालय यस दिशामा महत्वपूर्ण प्रयास हो । तर सङ्ग्रहालय एउटा भवनमा मात्र सीमित हुनु हुँदैन । सङ्ग्रहालयसम्म जाने बाटोमा पुराना लिम्बू घर, च्याब्रुङको प्रस्तुति, परम्परागत खाना, धान नाच, मुन्धुमसम्बन्धी मौखिक इतिहास र स्थानीय हस्तकलालाई जोड्न सकियो भने ‘जीवित संग्रहालय’को अवधारणा विकास हुन सक्छ ।

इलाम स् लाप्चा संस्कृति

इलामलाई चिया, कन्याम, अन्तुडाँडा र हरियालीका कारण चिनिन्छ । तर इलामको पर्यटन कथा चियामा मात्र सीमित छैन । यहाँको लाप्चा संस्कृति पनि पूर्वी नेपालको महत्वपूर्ण मौलिक सम्पदा हो । अन्तु र फिक्कल क्षेत्र लाप्चा समुदायको ऐतिहासिक सांस्कृतिक भूगोलसँग जोडिएको छ । लाप्चा इतिहास र संस्कृति संरक्षणका लागि संग्रहालय विकासको पहलसमेत भएको छ । यसलाई चिया पर्यटनसँग जोड्न सकिन्छ । साथै प्रदेशस्तरीय बृहत खुल्ला  संग्रहालय भित्र साना साना संग्रहालय तथा सास्कृतिक सर्किट विकास गर्न सकिन्छ ।

कन्याम–अन्तु चिया तथा लेप्चा सांस्कृतिक पर्यटन सर्किट

बिहान चिया बगानमा चिया टिप्ने अनुभव, दिउँसो लाप्चा गाउँमा परम्परागत खाना, भाषा र जीवनशैलीको परिचय, साँझ स्थानीय लोकसंगीत र राति होमस्टे । यसरी एउटा पर्यटकले एउटै यात्रामा प्रकृति ं चिया ं जातीय संस्कृति ं खाना ं इतिहास ं होमस्टे अनुभव गर्न सक्छ ।

झापा–मोरङ स् राजवंशी, धिमाल, मेचे र सन्थालको जीवित संग्रहालय

कोशीको सांस्कृतिक पर्यटन पहाडमा मात्र सीमित छैन । राजवंशी, धिमाल, मेचे, सन्थाल, थारू, ताजपुरिया र अन्य समुदायको जीवनशैली तराईको बहुसांस्कृतिक इतिहाससँग जोडिएको छ । राजवंशी समुदायको ठूलो हिस्सा झापामा केन्द्रित छ भने मोरङमा पनि उल्लेख्य जनसंख्या छ । धिमाल समुदायको मुख्य बसोबास मोरङ र झापामा रहेको विवरणले देखाउँछ । धिमाल समुदायको परम्परागत सामाजिक संस्था माझीवाराङ र समुदाय प्रमुख माझीको संरचना आफैंमा अध्ययनयोग्य सांस्कृतिक सम्पदा हो । परम्परागत घर, कृषि औजार, पोशाक, विवाह संस्कार, खानपान, लोकगीत, नाच, प्रकृति पूजा र सामुदायिक संस्थालाई एकै ठाउँमा अनुभव गराउने हो भने मोरङ–झापा तराई सांस्कृतिक संग्रहालय मार्ग बनाउन सकिन्छ।

सुनसरी स् थारू संस्कृति र कोशी सभ्यता

सुनसरी कोशी प्रदेशको बहुजातीय स्वरूप बुझ्न महत्वपूर्ण जिल्ला हो । यहाँ थारू समुदायको उल्लेख्य जनसंख्या छ । थारू संस्कृति, माघी, जितिया, परम्परागत खाना, नाच, लोकगीत, घरको बनोट, कृषि प्रणाली र सामुदायिक जीवनलाई पर्यटनसँग जोड्न सकिन्छ ।अर्कोतर्फ, कोशी टप्पु आसपासको प्राकृतिक भूगोललाई स्थानीय समुदायको संस्कृतिसँग जोडेर प्रकृति–संस्कृति पर्यटनको नयाँ उत्पादन बनाउन सकिन्छ । अर्थात् पर्यटकले वन्यजन्तु हेर्ने मात्र होइन—

कोशी नदी → थारू गाउँ → स्थानीय खाना → लोकनृत्य → परम्परागत घर → कृषि अनुभवजस्ता गतिविधि गर्न पाउने व्यवस्था मिलाउन सकिन्छ ।

सोलुखुम्बु स् शेर्पा संस्कृति आफैंमा संग्रहालय

सोलुखुम्बुमा सङ्ग्रहालयको अर्थ अझ फराकिलो हुन्छ । खुम्बु क्षेत्रका शेर्पा गाउँ, गुम्बा, मणि भित्ताहरू, प्रार्थना झण्डा, परम्परागत घर, पोसाक, धार्मिक संस्कार र हिमाली जीवनशैली आफैंमा एउटा जीवित सांस्कृतिक सङ्ग्रहालय हुन् । नाम्चेमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज सङ्ग्रहालय र शेर्पा संस्कृति सङ्ग्रहालयले हिमाली प्राकृतिक तथा जातीय इतिहासलाई पर्यटकसँग जोडिरहेका छन । यहाँको सगरमाथा नेशनल पार्क म्युजियम, शेर्पा संस्कृति सङ्ग्रहालय । यहाँको मुख्य सम्भावना भनेको सङ्ग्रहालयलाई सगरमाथा पदयात्रासँग जोड्नु हो । पर्यटकले सगरमाथा हेर्ने होइन, ‘हिमालसँग बाँच्ने शेर्पा सभ्यता’ बुझ्ने अवसर पाउन सक्छ ।

तेह्रथुम–धनकुटा स् इतिहास, स्मृति र संस्कृति

तेह्रथुम र धनकुटा कोशी प्रदेश पूर्वी पहाडको अर्को महत्वपूर्ण सांस्कृतिक क्षेत्र हो । आठपहरिया, लिम्बू, मगर, तामाङ, गुरुङ लगायतका समुदायका परम्परा यहाँ भेटिन्छन् । तेह्रथुमको वसन्तपुर क्षेत्रमा रहेका ऐतिहासिक तथा सांस्कृतिक स्थललाई पर्यटनसँग जोड्न सकिन्छ । त्यस्तै धनकुटाको मौनाबुधुक क्षेत्रमा पुराना घर तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित स्थलहरू पनि भेटिन्छन् । उदाहरणका रूपमा चेम्जोङहरूको पुरानो घरलाई स्थानीय इतिहाससँग जोडेर हेर्न सकिन्छ । चेम्जोङ्गहरुको पुरानो घर, चौविसे गाउँपालिका वडा नं।– ७ मा रहेको छ । सङ्ग्रहालय भन्नाले नयाँ भवन बनाएर पुराना सामान जम्मा गर्नु मात्र होइन । पुरानो घरलाई जोगाएर त्यसको कथा सुनाउनु पनि सङ्ग्रहालय हुन सक्छ ।

भोजपुर स् ढुंगा, कला र सांस्कृतिक इतिहास

भोजपुरको सांस्कृतिक पर्यटनलाई केवल ऐतिहासिक बजार वा प्राकृतिक दृश्यमा सीमित राख्नु आवश्यक छैन । यहाँ कला, संस्कृति र ऐतिहासिक सम्पदासँग जोडिएका नयाँ सङ्ग्रहालय तथा स्थलहरू पनि विकास भइरहेका छन् । भोजपुरमा रहेको फलैँचा कला तथा संस्कृति सङ्ग्रहालयले स्थानीय कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने सम्भावना देखाउँछ । फलैँचा आर्ट तथा सास्कृतिक सङ्ग्रहालय । त्यस्तै, भोजपुरको तिम्मक ऐतिहासिक खुल्ला ढुङ्गे सङ्ग्रहालयजस्ता पहलले ‘ओपन एयर म्युजियम’को अवधारणालाई अझ प्रत्यक्ष बनाउँछन् । तिम्मक ऐतिहासिक खुल्ला ढुङ्गे सङ्ग्रहालय यस्ता स्थललाई सडक, होमस्टे, स्थानीय खाना र सांस्कृतिक पदमार्गसँग जोड्न सके भोजपुरलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

तेह्रथुमदेखि ताप्लेजुङसम्म स् सङ्ग्रहालयको नयाँ नक्सा

कोशीमा सङ्ग्रहालयको अवधारणा विस्तार गर्ने हो भने एउटा सांस्कृतिक पर्यटन नक्सा यस्तो बनाउन सकिन्छ ।

१। झापा–मोरङ

राजवंशी–धिमाल–मेचे–सन्थाल सांस्कृतिक मार्ग

२। सुनसरी

थारू–कोशी नदी–प्रकृति संस्कृति मार्ग

३। धनकुटा

आठपहरिया–लिम्बू–किरात सांस्कृतिक मार्ग

४। तेह्रथुम

लिम्बू–ऐतिहासिक घर–पहाडी सांस्कृतिक मार्ग

५। भोजपुर

राई–मुन्दुम–कला–ऐतिहासिक सम्पदा मार्ग

६। खोटाङ

राई–साकेला–मुन्दुम पर्यटन मार्ग

७। उदयपुर

किरात–मगर–तराई÷पहाड सांस्कृतिक संगम

८। ओखलढुंगा

सुनुवार–राई–किरात सांस्कृतिक मार्ग

९। सोलुखुम्बु

शेर्पा–बौद्ध–सगरमाथा सांस्कृतिक मार्ग

१०। संखुवासभा

याक्खा–ल्होमी–किरात हिमाली संस्कृति मार्ग

११। पाँचथर

लिम्बू–मुन्धुम–च्याब्रुङ मार्ग

१२। इलाम

लाप्चा–चिया–प्रकृति पर्यटन मार्ग

१३। ताप्लेजुङ

लिम्बू–कञ्चनजङ्घा–मुन्धुम सांस्कृतिक मार्ग

१४। तेह्रथुमरधनकुटा–संखुवासभा जोडिने क्षेत्र स् किरात सभ्यता अध्ययन तथा सांस्कृतिक पदमार्ग


सङ्ग्रहालयलाई ‘हेर्ने’ मात्र होइन, ‘बाँच्ने’ पनि बनाउनुपर्छ । कोशी प्रदेशको सांस्कृतिक पर्यटन विकासमा सबैभन्दा महत्वपूर्ण परिवर्तन अवधारणामा हुनुपर्छ । परम्परागत सङ्ग्रहालयमा पर्यटकले पुरानो वस्तु हेर्छन् । खुला सङ्ग्रहालयमा पर्यटकले त्यो वस्तु किन प्रयोग हुन्थ्यो भन्ने जीवन देख्छन् । जस्तैः पुरानो हलो हेर्नुभन्दा खेतमा हलो चलाउने अनुभव, पुरानो ढिकी हेर्नुभन्दा ढिकीमा अन्न कुट्ने अनुभव, परम्परागत पोसाक हेर्नुभन्दा त्यो पोसाक लगाएर स्थानीय नृत्य सिक्ने अनुभव, साकेलाको फोटो हेर्नुभन्दा साकेला नाचमा सहभागी हुने अनुभव, च्याब्रुङ हेर्नुभन्दा च्याब्रुङको ताल सिक्ने अनुभव, पुरानो लिम्बू घर हेर्नुभन्दा त्यही घरमा स्थानीय खाना खाने अनुभव, यही हो, अनुभवमा आधारित सङ्ग्रहालय पर्यटन ।

कोशी जीवित संग्रहालय

कोशी प्रदेशमा एउटै ठूलो जातीय संग्रहालय बनाएर मात्र यसको सांस्कृतिक विविधता संरक्षण गर्न सम्भव नहुन सक्छ । बरु ‘कोशी जीवित संग्रहालय’ नामको अवधारणा विकास गर्न सकिन्छ । यसअन्तर्गत ः

गाउँ . सङ्ग्रहालय

पुरानो घर . प्रदर्शनी कक्ष

भाषा . जीवित अभिलेख

लोकगीत . श्रव्य संग्रह

नाच . जीवित प्रदर्शन

पर्व . सांस्कृतिक उत्सव

परम्परागत खाना . खाद्य सम्पदा

हस्तकला . जीवित सीप

कृषि . अनुभवात्मक पर्यटन

गुम्बारमन्दिररमुन्धुम स्थल . आध्यात्मिक सम्पदा

स्थानीय वृद्धवृद्धा . मौखिक इतिहासका जीवित अभिलेख बन्न सक्छन् ।

चौध जिल्लालाई जोड्ने ‘ओपन म्युजियम सर्किट’

यसलाई पर्यटनको उत्पादन बनाउन कोशी प्रदेशले कोशी ओपन म्युजिएम सर्किट विकास गर्न सक्दछ ।पर्यटकले एउटा डिजिटल नक्सामार्फत आफ्नो यात्रा रोज्न सक्नेछन् ।

जस्तै स् विराटनगर → धिमाल÷राजवंशी बस्ती → धनकुटा → आठपहरिया संस्कृति → भोजपुर → राईरमुन्दुम → पाँचथर → लिम्बू संस्कृति → इलाम → लेप्चा तथा चिया → ताप्लेजुङ → कञ्चनजङ्घा।

अर्को मार्ग

धरान → सुनसरी थारू संस्कृति → इटहरीरकोशी क्षेत्र → भोजपुर → संखुवासभा → याक्खा÷ल्होमी संस्कृति → सोलुखुम्बु → शेर्पा संस्कृति → सगरमाथा । यसरी जातीय संस्कृति, प्रकृति, साहसिक पर्यटन, होमस्टे, कृषि, चिया, पदयात्रा र संग्रहालय एउटै पर्यटन उत्पादनमा जोड्न सकिन्छ ।

चुनौती स् संस्कृति पर्यटनको वस्तु मात्र बन्ने खतरा

तर खुला सङ्ग्रहालय पर्यटन विकास गर्दा एउटा गम्भीर प्रश्न पनि उठ्छ । समुदायको संस्कृति पर्यटकका लागि प्रदर्शन गर्ने वस्तु मात्र बनाउने कि समुदायको स्वामित्वमै राख्ने रु यसको जवाफ हुनुपर्छ । पर्यटनबाट प्राप्त आम्दानीको निश्चित हिस्सा स्थानीय समुदायमा जानुपर्छ । स्थानीय युवा सांस्कृतिक गाइड बन्नुपर्छ । वृद्धवृद्धाको मौखिक इतिहास रेकर्ड गर्नुपर्छ । स्थानीय भाषामा सामग्री तयार गर्नुपर्छ । परम्परागत घरलाई होटलमा रूपान्तरण गर्दा मौलिक स्वरूप नष्ट गर्नु हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा भनेको संस्कृति बेच्ने होइन, संस्कृति बुझाउने पर्यटन विकास गर्नुपर्छ । कोशी प्रदेशमा कति वटा सङ्ग्रहालय छन् भन्ने तथ्यांक महत्वपूर्ण छ । तर त्योभन्दा महत्वपूर्ण प्रश्न हो, कति वटा गाउँ आफैँमा सङ्ग्रहालय बन्न सक्छन् रु ताप्लेजुङको लिम्बू बस्ती, इलामको लाप्चा भूगोल, भोजपुरको राई सभ्यता, धनकुटाको आठपहरिया संस्कृति, संखुवासभाको याक्खा–ल्होमी संसार, सोलुखुम्बुको शेर्पा जीवन, झापा–मोरङको धिमाल–राजवंशी–मेचे संस्कृति र सुनसरीको थारू सभ्यता यी सबैलाई एउटै पर्यटन नक्सामा जोड्ने हो भने कोशी प्रदेशको सांस्कृतिक पर्यटनको नयाँ अध्याय सुरु हुन सक्छ ।

प्रदेश सरकारको आफ्नै परिचयमा पनि कोशीलाई जातीय तथा भाषिक विविधतायुक्त प्रदेशका रूपमा उल्लेख गरिएको छ । साथै सगरमाथा, कञ्चनजङ्घा, मकालु, नाम्चे, अन्तुडाँडा, कन्याम, भेडेटार र कोशी टप्पुजस्ता प्राकृतिक तथा पर्यटन गन्तव्यहरू यसै प्रदेशमा छन् । त्यसैले कोशीको पर्यटनको भविष्य हिमाल हेर्ने वा चिया बगान घुम्नेमा सीमित छैन । भविष्यको ठूलो सम्भावना बोकेको पर्यटन क्षेत्र कोशी प्रदेशमा विकास गर्न सकिन्छ । जहाँ पर्यटकले टिकट काटेर एउटा भवनभित्र प्रवेश गर्दैन बरु गाउँमा पुग्छ, स्थानीय परिवारसँग बस्छ, स्थानीय खाना खान्छ, भाषा सुन्छ, लोकनाचमा सहभागी हुन्छ, पुरानो घरभित्र पस्छ, मुन्दुमको कथा सुन्छ, च्याब्रुङको ताल सिक्छ, चिया टिप्छ, हिमाली संस्कृतिसँग साक्षात्कार गर्छ, र फर्किँदा एउटा स्मृति मात्र होइन, एउटा समुदायको कथा बोकेर फर्किन्छ । यही अवधारणालाई संस्थागत गर्न सकियो भने सम्पूर्ण कोशी प्रदेश नै नेपालको सबैभन्दा ठूलो ‘खुला सांस्कृतिक सङ्ग्रहालय’ बन्न सक्छ ।