इटहरी । इटहरीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सामुहिक प्रयास गर्नुपर्ने कुरामा पर्यटनकर्मीहरुले जोड दिएका छन् । उनीहरुले इटहरीको विशिष्ट पहिचान विकास गर्नुपर्ने बताएका छन् ।
इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवशायी संघको संयोजन तथा नेपाल टुरिजम प्लस र कोशी मिडिया नेटवर्कले आयोजना गरेको पर्यटन प्रबद्र्धनसम्बन्धि अन्तक्र्रिया कार्यक्रममा बोल्दै पर्यटनकर्मीहरुले इटहरीमा पर्यटन गतिविधिको ठूलो सम्भावना रहेको बताउँदै त्यसको उपयोगमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष तेजबहादुर पुरीले पर्यटनको विकासको योजनाको लागि सबैको सकारात्मक पहल आवश्यक पर्नेमा जोड दिए । निरन्तर विचार मन्थन र योजनामूलक छलफलको अभ्यास आवश्यक रहेको बताउँदै उनले टुर प्याकेज सबैभन्दा आवश्यक पक्ष भएको उल्लेख गरे । पर्यटकीय क्षेत्रहरूको प्रभावकारी प्रवर्द्धन र बजारीकरणमा ध्यान दिनुपर्ने सुझावसमेत दिए ।
धरानका मेयर हर्क साम्पाङले एउटा पार्कलाई चलायमान बनाएर नयाँ आकर्षण सिर्जना गरेको उदाहरण दिँदै इटहरीमा पनि त्यस्तै सम्भावना रहेको बताए। इटहरीले पर्यटकलाई के बेच्ने र केका आधारमा आकर्षित गर्ने भन्ने विषयमा स्पष्ट योजना आवश्यक रहेको उनको भनाइ थियो। उनले विभिन्न क्षेत्रका सरोकारवालाबीच नियमित रूपमा विचार मन्थन गरेर पर्यटन र विकासका नयाँ अवधारणा खोज्नुपर्ने तथा प्याकेज टुरमार्फत पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्नुपर्ने बताए।
इटहरीका समाजसेवी दिनेश भट्टराईले अवसरको खोजीमा आफू गाउँबाट इटहरी आएको अनुभव सुनाउँदै इटहरीमा पर्यटन विकासका लागि नयाँ आकर्षण र नयाँ गन्तव्य निर्माण गर्नुपर्ने बताए। पर्यटकहरू इटहरीमा भित्रिने, बस्ने र समय बिताउने वातावरण निर्माण गर्न सके पर्यटनसँगै स्थानीय अर्थतन्त्र पनि चलायमान हुने उनको धारणा थियो।
इटहरी खानेपानीका पूर्वअध्यक्ष रामप्रसाद चौलागाईंले पछिल्लो १० वर्षमा इटहरीको जनसंख्या करिब ५० हजार मात्र बढेको उल्लेख गर्दै मानिसहरू इटहरीमा किन बस्ने भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए। इटहरीको विशिष्ट पहिचान र आकर्षण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले खनारको पुलदेखि चतरासम्मको नहर क्षेत्रमा पर्यटनका अनेक सम्भावना रहेको बताए। मानवनिर्मित पर्यटकीय संरचना, पार्क तथा मनोरञ्जन केन्द्रहरू इटहरीको भविष्यको सम्भावना भएको उल्लेख गर्दै यस्ता परियोजनाबाट हजारौं रोजगारी सिर्जना गर्न सकिने बताए। कलाकार र सांस्कृतिक क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने तथा इटहरीका सांस्कृतिक सम्पदा र सिर्जनात्मक क्षमतालाई पर्यटनसँग जोड्न सके शहरको पहिचान बलियो बन्ने उनको भनाइ थियो। इटहरीमा पर्यटन, संस्कृति, मनोरञ्जन र पूर्वाधार विकासका अनन्त सम्भावना रहेको भन्दै त्यसलाई योजनाबद्ध रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
पर्यटन व्यवशायी रबिन गौतमले इटहरीमा पहिले सञ्चालनमा रहेका दोहोरी साँझहरू बन्द भएपछि स्थानीय व्यवसायले अवसर गुमाएको र पर्यटकहरुसमेत घटेको सम्झिए । विगतमा साँझ ६ बजेपछि प्रहरीले पसल बन्द गराउने अवस्था रहेको र अहिले पनि १० बजे हाराहारी प्रहरीले व्यवशायलाई बन्द गराउने गरेको बताए । उनले व्यवसायको सुरक्षाको जिम्मेवारी राज्यको भए पनि जबर्जस्ती सटर बन्द गराउने काम उचित नभएको बताए।
भाटभटेनीजस्ता संस्थाले इटहरीलाई किनमेलको केन्द्र बनाएको, विदेशी नागरिकसमेत किनमेलका लागि आउने गरेको बताए । इटहरीमा स्तरीय होटलहरुले पर्यटकहरुलाई स्तरीय सेवा दिएको बताउँदै व्यवशायीकै लगानीमा नयाँ कन्भेन्सन सेन्टर बन्ने खबरले उत्साहित बनाएको बताए । एकैपटक पाँच हजार पर्यटक ल्याउने इभेन्ट गर्न सकियो भने त्यसले इटहरीलाई रातारात चलायमान गराउने उनको भनाइ थियो । तालतलैयाको विकास अपेक्षाअनुसार हुन नसकेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिन सकिने बताए । यस्तै इटहरीलाई थारु संस्कृतिसँग जोडेर विशेष पहिचान दिन सकिने सुझाव उनले दिए। इटहरी हुँदै दैनिक करिब एक लाख मानिस आवतजावत गर्ने भएकाले उनीहरूलाई केही समय रोक्ने खालका गतिविधि र संरचना विकास गर्नुपर्नेमा उनले जोड दिए।
होटल मेनेजमेन्ट समेत पढाई हुने सीबी कलेजका अध्यक्ष देशबन्धु कार्कीले पर्यटन क्षेत्रमा लगानी गरेर जोखिम उठाउने व्यवसायीहरूको प्रशंसा गर्नुपर्ने बताए। होटल मेनेजमेन्ट कलेजहरूले कोशीमा बढ्दो पर्यटकीय गतिविधिलाई सहयोग गर्ने बताए । आर्थिक, भौगोलिक र सांस्कृतिक दृष्टिले इटहरी व्यापारिक केन्द्र बन्न सक्ने सम्भावना रहेको भन्दै तमोर करिडोर पूर्ण रूपमा सञ्चालनमा आएपछि इटहरी अझ महत्वपूर्ण केन्द्र बन्ने बताए। शिक्षा र आतिथ्य क्षेत्रलाई जोडेर इटहरीलाई हस्पिटालिटी हब बनाउन सकिने तथा पर्यटन प्याकेज विकास गर्नुपर्ने सुझाव उनले दिए। सरसफाइ र हरियाली प्रवर्द्धनलाई पनि पर्यटन विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो। सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको र निजी क्षेत्र काम गर्न इच्छुक भए पनि वातावरण पर्याप्त नभएको उनले बताए।
होटल तथा लज व्यवशायी संघका अध्यक्ष दीपक पोखरेलले इटहरी भएर यात्रा गर्ने पर्यटकलाई इटहरीमै केही समय रोक्ने वातावरण निर्माण गर्नुपर्ने बताए। निजी क्षेत्रले मात्र सबै सम्भावित क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले गन्तव्य पहिचान र विकासमा साझेदारी आवश्यक रहेको उनको भनाइ थियो। होटल व्यवसायीहरूले पर्यटन प्याकेज निर्माणको प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै इटहरीको पहिचान निर्माणमा सबै क्षेत्र मिलेर काम गर्नुपर्ने बताए।
माता मनकामना तीर्थयात्राका प्रतिनिधिले दीर्घकालीन पर्यटन विकास योजना आवश्यक रहेको बताए। आफूहरूले २०५५ सालदेखि प्याकेज टुर सञ्चालन गर्दै आएको उल्लेख गर्दै नेपाललाई देवभूमिका रूपमा चिनिने भएकाले पूर्वी नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यलाई जोडेर धेरै प्याकेज विकास गर्न सकिने बताए। इटहरी सम्भावनायुक्त शहर भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राख्दै विद्यार्थी र युवालाई पर्यटनसँग जोड्नुपर्ने तथा प्रत्येक टोलमा पर्यटनप्रेमी वातावरण निर्माण गर्नुपर्ने बताए।
भरत पोख्रेलले पर्यटनलाई केवल घुमघामसँग मात्र नभई कला, संगीत, संस्कृति र सामाजिक सम्बन्धसँग पनि जोड्नुपर्ने बताए। विगतमा अवसर र पूर्वाधारको अभाव रहे पनि अहिले पर्यटन विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै कलाकारिता, संस्कृति, जातीय पहिचान, स्थानीय परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोड्न सकिने बताए। इटहरीमा विकास बढे पनि सामाजिक सम्बन्ध कमजोर बन्दै गएको उल्लेख गर्दै सामूहिक प्रयास र सकारात्मक सोचमार्फत इटहरीलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखे। बाहिरी पर्यटक मात्र खोज्नुभन्दा स्थानीय उपभोग र बदलिँदो जीवनशैलीलाई पनि पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा कोशी मिडिया नेटवर्कका अध्यक्ष विकल पौडेलले पर्यटनको विकासका लागि अवधारणा तयार पारेर अघि बढ्नुपर्ने बताए । उनले पर्यटन विकासमा दीर्घकालिन दृष्टिकोण चाहिने बताए ।




















