भोजपुर । रैथाने खाना र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन विकास गर्ने उद्देश्यले भोजपुरको चखेवामा आयोजना गरिएको रैथाने खाना महोत्सव सम्पन्न भएको छ।
टेम्केमैयुङ गाँउपालिका , पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTTDP) र Helvetas Nepal को आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा Mundum Trail अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा चैत ३० गतेदेखि सञ्चालन भएको महोत्सव बुधबार सम्पन्न भएको हो।
महोत्सवको समापन नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य राजन मुकारूङको प्रमुख आतिथ्यतामा गरिएको थियो। समापन अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
स्थानीय रैथाने खाना तथा कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्दै मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विबेक कुलुङ राईले बताउनुभयो।
त्यस्तै, महोत्सवले रैथाने खाना प्रवर्द्धन, पर्यटन विकास तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक योगदान पुग्ने सरोज बस्नेत ले बताउनुभयो।
समापन समारोहमा मुन्दुम पदमार्गको पर्यटन विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। महोत्सवमा करिब २० वटा स्टल राखिएका थिए।
कार्यक्रममा मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राई टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमा राई ,गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, आयोजक संस्थाका पदाधिकारी, कलाकार तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।




















