भोजपुर | भोजपुरको मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवामा हुने ‘रैथाने खाना महोत्सव’ भोलि चैत ३० गतेदेखि आयोजना गरिने महोत्सवको तयारी पूरा भएको छ ।
महोत्सव २०८२ चैत्र ३० गतेदेखि २०८३ बैशाख २ गतेसम्म स्थानीय रैथाने परिकार, कृषी उत्पादनको प्रवद्र्धन, बजारिकरण र मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङका अनुसार महोत्सवमा पर्यटकले यहाँका विशिष्ट रैथाने परिकारहरूको स्वाद अनुभव गर्ने अवसर पाउनेछन्। महोत्सवमा परम्परागत खाना परिकारहरू उपलब्ध हुने पाउनेछन् ।
पर्यटकले यहाँको प्रकृति, सांस्कृतिक परम्परा र अतिथि सत्कारको अनुभवसँगै स्थानीय जीवनशैली पनि नजिकबाट बुझ्ने अवसर पाउने छन् ।
टेम्केमैयुङ गाउँपालिकाले महोत्सवमार्फत स्थानीय किसान, उद्यमी र व्यवसायीलाई प्रोत्साहन दिने लक्ष्य राखेको छ। यसले स्थानीय उत्पादनको बजार विस्तार गर्ने मात्र नभई, पर्यटकलाई यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदासँग परिचित गराउन सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
यस अवधिमा मात्र खानपानमा सीमित नभई, स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम विभिन्न पर्यटकीय गतिविधिहरू पनि सञ्चालन हुने आयोजकहरूले जानकारी दिएका छन्।
महोत्सव टेम्केमैयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएको हो। महोत्सवले स्थानिय समुदायको सांस्कृतिक, परम्परा, रहनसहनलाईसमेत उजागर गर्ने आयोजकको भनाइ छ ।




















