इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा पर्यटन पत्रकारिता सम्बन्धी ४ दिने तालिम बुधबारबाट सुरु भएको छ ।

पर्यटन वर्ष २०८२ को अन्त्यतिर आयोजना गरिएको उक्त तालिम पर्यटन कार्यालय धरान (कोशी प्रदेश) को सहकार्यमा सञ्चालन गरिएको हो । नाम्जे मा सञ्चालन भइरहेको तालिमको उद्घाटन कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भिम पराजुली को प्रमुख आतिथ्यमा गरिएको हो ।

पर्यटन प्रवर्द्धन गर्दै पत्रकारितामार्फत पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट करिब ५० भन्दा बढी सञ्चारकर्मी तथा पत्रकारको सहभागिता रहेको छ । भेटेडार नजिकै रहेको नाम्जेमा सञ्चालन भइरहेको तालिम चैत २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भिम पराजुलीले प्रदेशका पर्यटकीय स्थलहरूको थप पहिचान गरी प्रदेश सरकारले योजनाबद्ध रूपमा पर्यटन विकासका कार्यक्रम अघि बढाउने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकिएको अवस्थालाई सुधार गर्दै प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा प्रदेश सरकारले निजी क्षेत्रसँग समन्वय गरेर पर्यटन क्षेत्रको विकासलाई अगाडि बढाउने समेत बताउनुभयो ।

कार्यक्रममा साँगुरीगढी गाउँपालिका का अध्यक्ष जितेन्द्र राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश का अध्यक्ष भरत खड्का, निवर्तमान अध्यक्ष लिला बल्लभ घिमिरे ,पर्यटन पत्रकार विराट अनुपम लगायत अन्य पदाधिकारीहरूको  उपस्थिति रहेको थियो ।