भोजपुर । सरकारले प्राथमिकतामा राखेको पर्यटकीय गन्तव्य मुन्दुम पदमार्ग को विकास र प्रवर्द्धनका लागि भोजपुरमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन तथा पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रममा नेपालका सातै प्रदेशसँगै भारत, भुटान, जापान, कोरिया, नेदरल्याण्ड र अमेरिका लगायत करिब एक दर्जन देशका स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ। संस्कृतिविद् भक्त राईका अनुसार मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित सम्मेलन र पदयात्राको तयारी गरिएको हो।
शनिबार टेम्केमैयुङ गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको थियो। यसले मुन्दुम पदमार्गसँगै चखेवा भञ्ज्याङ, टेम्क, मैयुङलगायत क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
खोटाङको तावाभञ्ज्याङ बाट सुरु हुने यो पदमार्ग भोजपुरका विभिन्न पर्यटकीय स्थल हुँदै करिब १५३ किलोमिटर लम्बाइमा फैलिएको छ। साल्पापोखरी, मैयुङ, एकराते र बाघखोर हुँदै भोजपुर टक्सार विमानस्थलसम्म पुग्ने यस मार्गको यात्रा नेपालीका लागि ५ देखि ९ दिन तथा विदेशी पर्यटकका लागि १० देखि १५ दिनसम्म लाग्ने बताइएको छ।
पदमार्गको विकासका लागि हेल्भेटास नेपाल को प्राविधिक सहयोगमा टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी), नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीच सहकार्य भइरहेको छ




















