सुनसरी | बिर्तामोडमा आयोजना हुन लागेको ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२’ लाई आयोजकहरूले सीमापार पर्यटन सहकार्यको नयाँ मोडेलका रूपमा अघि सारेका छन्।
‘सीमापार संस्कृति, सम्पदा र पर्यटनको उत्सव’ भन्ने नारासहित चैत २४ र २५ गते सञ्चालन हुने उक्त कार्यक्रम पश्चिम बंगाल सँगको सांस्कृतिक तथा पर्यटन सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको हो।
उत्सव काँकडभिट्टा स्थित पर्यटन कार्यालय काँकडभिट्टाको प्रवर्द्धनमा हुन लागेको हो। आयोजकका अनुसार यस कार्यक्रमले नेपाल र भारत बीचको पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक समितिकी संयोजक इन्दिरा श्रेष्ठका अनुसार निजी क्षेत्रको सहभागिता बढाउने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा कोशी प्रदेश लाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
उत्सवमा नेपालका १८ र बंगालका १२ गरी ३० वटा स्टल रहनेछन्। ती स्टलहरूमा स्थानीय खानाका परिकार, हस्तकला सामग्री, पर्यटन प्याकेज तथा विभिन्न सेवा प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
त्यसैगरी सांस्कृतिक नृत्य, फोटो तथा चित्रकला प्रदर्शनीजस्ता गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
पर्यटन विज्ञहरूका अनुसार यस्तो कार्यक्रमले नेपाल–भारतबीच ‘सफ्ट डिप्लोमेसी’ को अवसर सिर्जना गर्न सक्छ। तर यसको दीर्घकालीन प्रभावका लागि सरकारी तहको औपचारिक सहभागिता तथा द्विपक्षीय समझदारी आवश्यक हुने उनीहरूको धारणा छ।




















