संखुवासभा | पूर्वी नेपालको दुर्गम हिमाली जिल्ला संखुवासभा जिल्ला अन्तर्गत पर्ने भोटखोला गाउँपालिका को माथिल्लो हिमाली भेगमा अवस्थित किपुक पोखरी र माथिल्लो किपुक पोखरीसम्म खोटाङका चर्चित युट्युबर मनोज आचार्य नेतृत्वको एमएमसी (MMC) टिम पुगेको छ।

एमएमसीका सञ्चालक युट्युबर मनोज आचार्य र उनका सहकर्मी मिलन आचार्यसहितको टोलीले पहिलोपटक सो क्षेत्रको दृश्य सामग्री सार्वजनिक गर्ने उद्देश्यले जोखिमपूर्ण यात्रा तय गरेका हुन्। करिब ४,५०० मिटरभन्दा बढी उचाइमा रहेको उक्त क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।

 कठिन पदयात्रा, अनुपम दृश्य

टोलीले खाँदबारी बजारबाट यात्रा सुरु गर्दै हटिया र निगंम हुँदै दुई दिनको पैदल यात्रापछि किपुक पोखरी क्षेत्र पुगेको जनाएको छ। दुर्गम भू–भाग, चिसो मौसम र उकालो बाटो पार गर्दै टोलीले हिमालको काखमा अवस्थित शान्त र मनमोहक पोखरीहरूको अवलोकन गरेको थियो।

चैत–बैशाख महिनामा यस क्षेत्रमा गुराँस डकमक्क फुल्ने भएकाले अझै आकर्षक देखिने स्थानीय बताउँछन्। साथै टोलीले यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटीहरूको पनि अवलोकन गरेको आचार्यले बताउनु भयो ।

नेपाल–चीन सिमानासम्मको यात्रा

टोलीले नेपाल–चीन सिमानामा पर्ने किमाथाङ्का क्षेत्र हुँदै अरुण नदी आसपासको भू–भागको समेत भ्रमण गरेको थियो। हिमालको शिरमा अवस्थित ती पोखरीहरू प्राकृतिक रूपमा अझै ओझेलमै रहेका छन्।

मनोज आचार्यका अनुसार, “नेपालको हिमाली क्षेत्रमा अझै पनि हजारौं यस्ता ताल–पोखरी छन्, जहाँ आजसम्म कोही नपुगेका वा नामाकरणसमेत नभएका प्राकृतिक सम्पदाहरू प्रशस्तै छन्।”

 सम्भावनाले भरिएको हिमाली क्षेत्र

संखुवासभाको भोटखोला गाउँपालिकाको माथिल्लो हिमाली क्षेत्र पर्यटन, जडीबुटी तथा साहसिक यात्राका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ। उचित प्रचार–प्रसार र पूर्वाधार विकास हुन सकेमा यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्न सक्ने देखिन्छ।

एमएमसी टिमको यो यात्रा पूर्वी नेपालको दुर्गम हिमाली सौन्दर्यलाई उजागर गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।