भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचालाई पर्यटन क्षेत्रमा छोटिएको छ ।
यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार पारिएको छ ।
पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालि पर्यटकको सहजताका लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य रहेको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताउनुभयो ।
पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७७ लाखको लागतमा भौतिक संरचनाको विकास गरिएको हो । वि.सं. १९४४ मा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण, सिंहदेवीस्थानमा सांस्कृतिक भवन निर्माण गरिएको छ। पाँचधारे पोखरीको मौलिकता परिवर्तन नगरी जीर्णोद्धार तथा संरक्षणको काम गरिएको छ।
किरातेश्वर ढुङ्गेबगैँचा किरातहरूको आस्था केन्द्र र पाँचधारे पोखरीको धार्मिक महत्व रहेकाले पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण भएको हो । गाँउपालिकाले सो क्षेत्रलाई संरक्षण गर्दै जाने भएको छ ।




















