काठमाडौं | अंग्रेजी वर्ष २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल घुमेका छन्। कोभिडअघिको समय सन् २०१९ को तुलनामा ९७ प्रतिशतसम्म पुनर्स्थापना भएको तथ्यांकले देखाएको छ। सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए। सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरे।
जेनजी आन्दोलन, बाढी–पहिरो लगायतका विपदका बाबजुद पर्यटक आगमनमा उत्साह देखिएको छ। डिसेम्बर महिनामा मात्रै ९८ हजार १९० जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्। यो संख्या डिसेम्बर २०२४ को तुलनामा ७ प्रतिशतले बढी हो भने डिसेम्बर २०१९ को महामारीअघिको आगमनको पनि ९७ प्रतिशत बराबर हो।
नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेका छन्। भारतबाट खुला सिमाना र बिना भिसा नेपाल आउन सकिन्छ। समीक्षा अवधिमा भारतबाट २ लाख ९२ हजार ४३८ जना (२५.२ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन्। दोस्रोमा संयुक्त राज्य अमेरिका (१ लाख १२ हजार ३१६ जना), तेस्रो चीन (९५ हजार ४८० जना), चौथो बेलायत (५८ हजार ६८४ जना) र बंगलादेश (५७ हजार ५४५ जना) क्रमशः शीर्ष पाँच पर्यटक स्रोत मुलुकमा परेका छन्।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क मुलुक) बाट सबैभन्दा बढी ४ लाख ८ हजार १०३ जना (३५.२ प्रतिशत) पर्यटक नेपाल आएका छन्। त्यसपछि अन्य एसियाली मुलुकबाट २ लाख ५३ हजार ३११ जना (२१.९ प्रतिशत) र युरोपबाट २ लाख २१ हजार १८ जना (१९.१ प्रतिशत) पर्यटकको आगमन भएको छ। साथै, अमेरिका क्षेत्रबाट १ लाख ३५ हजार ५०३ जना, ओसियानाबाट ५३ हजार ६९५ जना, मध्यपूर्वबाट २० हजार ५०४ जना, अफ्रिकाबाट ४ हजार ३२० जना र अन्य क्षेत्रबाट ६२ हजार ५ जना पर्यटक नेपाल आएका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ४ महिनामा पर्यटनबाट २७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको छ। साउनदेखि कात्तिकसम्मको अवधिमा यो रकम नेपाल भित्रिएको हो। त्यसैगरी, साउनदेखि मंसिरसम्म पर्यटन क्षेत्रमा ४७६ परियोजनामार्फत ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता पनि आएको छ।




















