सोलुखुम्बु | सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ‘मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्ष २०२५’ को समापन गरी किराँत कुलुङ समुदायको प्रमुख पर्व मिनारी दाचाम् चासुम्लो निङदोङ फाइम चाक्चाकुर पर्व आजबाट सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटनमा पानसमा दियो बालेर र बातासी खाएर गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा मुख्यमन्त्री कार्कीले किराँत सभ्यता, मुन्दुम दर्शन र महाकुलुङ क्षेत्रको धार्मिक–सांस्कृतिक तथा पर्यटन सम्भावनाबारे चर्चा गर्दै मुन्दुम ट्रेलले कोशी प्रदेशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

यस्तै पूर्व रक्षा मन्त्री मानवीर राईले कुलुङ समुदायको ऐतिहासिक योगदान, पहिचान र मुन्दुमी परम्पराको संरक्षण आवश्यक रहेको बताउँदै सांस्कृतिक पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो।

यस्तै, महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै एक वर्षको अवधिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक महाकुलुङ भित्रिएको तथ्याङ्क सार्वजनिक गर्नुभयो। अध्यक्ष कुलुङले चाक्चाकुर पर्व केवल धार्मिक परम्परा मात्र नभई कुलुङ समुदायको पहिचान, आत्मसम्मान र सामाजिक एकताको आधार भएको बताउनुभयो।

कार्यक्रममा कुलुङ पुर्खाहरूको विशेष सम्मान गरिएको थियो। साथै, कुलुङ र शेर्पा समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी गरिएको थियो । कुलुङ सांस्कृतिक नृत्य, मौलिक भेषभूषा र जीवनशैली झल्किने प्रस्तुति दिइएको थियो । IMG-20251230-WA0087

कुलुङ समुदायका पुर्खाहरूले प्रयोग गर्दै आएका चुया बाट बुनेका डोको) हरूको प्रदर्शनीले परम्परागत सीप र जीवनशैलीलाई जीवन्त रूपमा देखाइएको थियो।किराँत कुलुङ समुदायले आफ्नो प्रमुख पर्व मिनारी दाचाम् चाक्चाकुर पुस १५ देखि १८ गतेसम्म धूमधामका साथ मनाउने छन् । मध्य पुसमा प्रमुख बाली कोदो भित्र्याइसकेपछि अन्नको सह होस्, अनिकाल नलागोस् भन्ने कामनासहित पितृ र प्रकृतिलाई पूजा गर्दै यो पर्व मनाइने अग्रज कुलुङहरू बताउँछन्।

चाक्चाकुर पर्वको पूरा नाम ‘मिनारी दाचाम् चासुम् लो निङ्दोङ चाक्चाकुर’ हो।मिनारी दाचाम् चासुम् को अर्थ मानव पाखुरीले उब्जाएको अन्नको सह निङ्दोङ को अर्थ नयाँ वर्ष कुलुङ समुदायले चाक्चाकुर पर्वलाई नयाँ वर्षको सुरुवात को रूपमा लिने मान्यता राखेका छन्।

समापन कार्यक्रममा भलिबल, ब्याडमिन्टन, दौड, छेलो र धनुषवाणजस्ता खेलकुद प्रतियोगितासँगै कुलुङ भाषामा आधारित गायन तथा नृत्य प्रतियोगिता, परम्परागत सै राजा सै सै कार्यक्रम र स्थानीय कलाकारहरूको सांगीतिक साँझसमेत समावेश गरिएको छ। यसले मनोरञ्जनसँगै मौलिक संस्कृति संरक्षणमा योगदान पुग्ने आयोजकको विश्वास छ।IMG-20251230-WA0088

उद्घाटन कार्यक्रममा टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज  बस्नेत ,मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राई, मकाकुलङ गाँउपालिकाका जनप्रतिनिधिहरू, विभिन्न गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरू पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू लगाएतको उपस्थिति रहेको थियोे ।

यही अवसरमा महाकुलुङ गाउँपालिकाले पुस १८ गतेसम्म सार्वजनिक विदा समेत दिएको छ । मुन्दुम (रिदुम) ट्रेल भ्रमण वर्षको समापन र चाक्चाकुर पर्वको संयुक्त आयोजनाले महाकुलुङलाई धार्मिक, सांस्कृतिक र पर्यटनको केन्द्रको रूपमा थप स्थापित गरेको स्थानीयवासीको विश्वास छ।

मुन्दुम रेल भ्रमण वर्ष २०२५ को उद्घाटन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले गरेको थियो।  नेपाल सरकारले मुन्दुम ट्रेललाई सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश गरी भ्रमण वर्ष २०२५ घोषणा गरेको थियो । 

मुन्दुम ट्रेलको मार्ग खोटाङ र भोजपुरको सीमामा पर्ने टेम्केडाँडा (३,१६५ मिटर), साल्पा पोखरी (३,७५० मिटर) हुँदै सिलिचुङ (४,१६५ मिटर) सम्म पुग्ने गर्दछ। यो ट्रेल करिब १३ दिनमा विदेशी पर्यटकहरूले पूरा गर्न सक्ने र नेपाली पर्यटकका लागि १० दिन पर्याप्त हुने बताइएको छ। हिमाली भेगका अनुपम दृश्य, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पदमार्गलाई ‘भर्जिन ट्रेकिङ गन्तव्य’ को रूपमा प्रचार गरिंदै आएको छ।