सोलुखुम्बु । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को समापन कार्यक्रम यस वर्ष महाकुलुङ गाउँपालिका–स्थित गुदेलमा आयोजना गरिँदैछ।
चाकचाकुर चाडको अवसर पारेर पौष १५, १६ र १७ गतेसम्म चल्ने यो कार्यक्रम केवल औपचारिक समापन मात्र नभई मुन्दुम ट्रेल क्षेत्रको पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने उद्देश्यसहित आयोजना गरिएको हो।
महाकुलुङ गाउँपालिकाको आयोजनामा तथा मैयुङ–ट्याम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा हुने कार्यक्रममा खेलकुद, सांस्कृतिक र सांगीतिक गतिविधिहरूलाई विशेष प्राथमिकता दिइएको गाँउपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिनु भयो । गुदेल क्षेत्र मुन्दुम ट्रेलको महत्वपूर्ण केन्द्र भएकाले समापन कार्यक्रम यहीँ आयोजना गरिएको हो ।
कार्यक्रममार्फत कुलुङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको छ। साथै, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय होटल, होमस्टे, कृषि तथा साना व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा भलिबल, ब्याडमिन्टन, दौड, छेलो र धनुषवाणजस्ता खेलकुद प्रतियोगितासँगै कुलुङ भाषामा आधारित गायन तथा नृत्य प्रतियोगिता, परम्परागत सै राजा सै सै कार्यक्रम र स्थानीय कलाकारहरूको सांगीतिक साँझसमेत समावेश गरिएको छ। यसले मनोरञ्जनसँगै मौलिक संस्कृति संरक्षणमा योगदान पुग्ने आयोजकको विश्वास छ।
नेपाल सरकारले घोषणा गरेको मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई समर्थन र प्रवर्द्धन गर्ने उद्देश्यले पुस १५ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना गरिने नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्र सिंह कुलुङले जानकारी दिनुभयो।
चाकचाकुर महोत्सव कुलुङ समुदायको पुख्र्यौली पर्व हो, जुन ऋतु परिवर्तनसँगै नयाँ वर्षको सुरुवातको प्रतीकस्वरूप मनाइन्छ।महोत्सवमा कुलुङ समुदायले प्रकृतिको आराधना गर्ने, अगामी वर्षका लागि आफ्नो काम, खेतीपाती, स्वास्थ्य तथा समृद्धिको कामनाका साथ शक्ति माग्ने परम्परागत विधि प्रदर्शन गरिनेछ। साथै समुदायमा बसेर वर्षभरिका गतिविधिहरूको समीक्षा र योजना बनाउने सांस्कृतिक चलनहरूलाई संरक्षण गर्ने प्रयास पनि महोत्सवको मूल उद्देश्य हो।
महोत्सवले समुदायबीचको आत्मीयता अभिवृद्धि गर्ने, आपसी सद्भाव बढाउने र जातीय पहिचानमा गर्व महसुस गराउने वातावरण बनाउने विश्वास गरिएको छ। साथै, महाकुलुङ गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा समेत यस महोत्सवले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल सरकारले मुन्दुम ट्रेललाई १ सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश गरी भ्रमण वर्ष २०२५ घोषणा गरेको हो।
मुन्दुम ट्रेलको मार्ग खोटाङ र भोजपुरको सीमामा पर्ने टेम्केडाँडा (३,१६५ मिटर), साल्पा पोखरी (३,७५० मिटर) हुँदै सिलिचुङ (४,१६५ मिटर) सम्म पुग्ने गर्दछ। यो ट्रेल करिब १३ दिनमा विदेशी पर्यटकहरूले पूरा गर्न सक्ने र नेपाली पर्यटकका लागि १० दिन पर्याप्त हुने बताइएको छ। हिमाली भेगका अनुपम दृश्य, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पदमार्गलाई ‘भर्जिन ट्रेकिङ गन्तव्य’ को रूपमा प्रचार गरिंदै आएको छ।
मुन्दुम ट्रेल भ्रमण वर्षको सफलताका लागि चाकचाकुर महोत्सवले सांस्कृतिक चेतना फैलाउने र पर्यटक आकर्षण बढाउने ठूलो भूमिका खेल्ने आयोजकहरूको विश्वास छ। महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।




















