भोजपुर | पूर्वी नेपालको प्रख्यात मुन्दुम ट्रेल (पदमार्ग) ले अन्तर्राष्ट्रिय पहाडी पदयात्रा प्रदर्शन मार्ग (इन्टरनेश्नल माउन्टेन हाइकिङ डेमोस्ट्रेशन रुट)को मान्यता पाएको छ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल (नाट्टा) का अध्यक्ष कुमारमणी थपलियाका अनुसार, यो मान्यता चीनको गुइझो प्रान्तको गुइयाङ शहरमा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेलकुद सम्मेलन–२०२५ मा प्रदान गरिएको हो।

ईन्टरनेश्न माउन्टेन टुरीजम अलायन्सको आयोजनामा मंगलबारदेखि पर्वतीय पर्यटन सम्बन्धी ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरणबाट गुणस्तरीय जीवन’ सम्मेलन चीनको गुइझो प्रान्तमा जारी छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को पनि पहलमा प्रवर्दन गरिएको मुन्दुम ट्रेल लाई प्राप्त अन्तर्राष्ट्रिय मान्यताले नेपालले पर्वतीय पर्यटनमा रहेको मौलिकता, सांस्कृतिक विविधता र दिगो पर्यटनप्रतिको प्रतिबद्धतालाई विश्वसामु उजागर गरेको जनाईएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नाट्टा अध्यक्ष थपलियाले नेपालका विविध प्राकृतिक भू–दृश्य, सांस्कृतिक सम्पदा र पर्यटनका सम्भावनाहरू विश्वभरका पर्यटन समुदायबिच प्रस्तुत गरेका थिए ।’मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुनु नेपालका लागि गर्वको विषय हो। यसले नेपालले प्रवर्द्धन गर्न खोजेको मौलिक, स्थानीय समुदायमा आधारित र दिगो पर्वतीय पर्यटनको अवधारणालाई विश्वसामु परिचित गराएको छ। यो नेपालका लागि मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली पर्वतीय पर्यटनको गौरव हो,’ अध्यक्ष थपलियाले भने ।

यो ट्रेलले हिमाल, पहाड, र तराईबीचको अनौठो दृश्यात्मक सन्तुलन देखाउँछ। साल्पा पोखरी, सिलिचुङ डाँडा, सगरमाथा क्षेत्रका दृश्य र घना जंगलहरू यसका प्रमुख आकर्षण हुन्।

कुल लम्बाइ करिब सय किलोमिटर रहेको यो ट्रेल पदयात्रीको रुचिअनुसार ६ देखि १० दिनसम्म पूरा गर्न सकिन्छ।यस्का मुख्य मार्गहरुमा साल्पा पोखरी, मैयुङ, दिप्रुङ, दोरपाखा, दिक्तेल, च्यास्मिटार, बखाचोल, चम्पादेवी, तावाखोला, सिलिचुङ, नेचा लगायतका स्थान पर्छन् ।

यो पदमार्गमा किराँत जातिको जीवनशैली, संस्कृति, लोककथा, परम्परा, र धर्मसँग सम्बन्धित स्थलहरू भेटिन्छन्।मुन्दुम ट्रेल पदयात्रीहरुले ‘अथेन्टिक’ र ‘शान्तिपूर्ण’ मान्दछन । स्थानीय किराँत बस्तीहरू, झरना, डाँडा, र साँघुरो बाटाहरू पार गर्दै पदयात्रीले नेपालको मौलिक पहाडी संस्कृति नजिकबाट अनुभव गर्न पाउछन् ।

यो क्षेत्रमा २,५०० मिटरदेखि ४,२०० मिटर उचाइसम्मको भू–परिदृश्य छ । दुर्लभ वनस्पति, औषधिजन्य जडीबुटी र चराचुरुङ्गीका प्रजातिहरू समेटेको छ । सामुदायिक पहलमा विकसित गरिएको यो पदमार्गमा स्थानीय (होमस्टे), परम्परागत खानपान, र सांस्कृतिक प्रस्तुतिको अनुभव गर्न पाईन्छ ।

पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिकाबाट सुरु भएर साल्पासिलिछो गाउँपालिकाको सिलिचुङ डाँडासम्म पुग्छ। यसको कुल लम्बाइ करिब १५३ किलोमिटर रहेको छ। यात्राका क्रममा पर्यटकले टेम्के डाँडाबाट देखिने मनोरम हिमालय श्रृंखला, हाँस पोखरी, साल्पा पोखरी, र सिलिचुङ डाँडा लगायत दर्जनौं आकर्षक स्थलहरू अवलोकन गर्न सक्छन्। पदमार्गमा मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कृति र इतिहाससँग सम्बन्धित स्थलहरू, स्थानीय कला, परम्परा र रीतिरिवाजको गहिरो अध्ययन गर्न सकिने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनु भयो ।

यस पदमार्गमा पाइने रैथाने ज्ञान, जीवनशैली र स्थानीय सीपहरूका कारण यसलाई ‘खुला विश्वविद्यालय’ का रूपमा पनि चिनिन्छ। यात्रुहरू यहाँका स्थानीय बाली— कोदो, फापर, गहुँ, आलु, रायो, सिमी लगायत कृषिजन्य उत्पादन र गोठवालाद्वारा तयार गरिने चौँरीको दूध, लोकल कुखुरा, ढिँडो लगायतका स्वादिष्ट परिकारको स्वाद लिन सक्ने गर्छन्।

खोटाङको सोकला गाउँपालिकाको तावाभन्ज्याङ बाट सुरु हुने यो पदमार्ग भोजपुरको टेम्केडाँडा, चखेवाभन्ज्याङ, धेदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरी, मैयुङ, एकरोत र बाघखोर हुँदै भोजपुर टक्सार विमानस्थल सम्म पुग्छ। सम्पूर्ण पदयात्रा पूरा गर्न नेपाली यात्रुहरूलाई औसत पाँचदेखि नौ दिन, र विदेशी पर्यटकहरूलाई १० देखि २० दिन समय लाग्ने बताइन्छ। छोटो दूरीको यात्रा भने तीनदेखि पाँच दिनमै पूरा गर्न सकिन्छ।

पदमार्गमा हाल आवास, खानेपानी र होमस्टे सेवा विस्तार हुँदै गएको छ। विभिन्न गाउँपालिकाहरूले सामुदायिक पर्यटन प्रवर्द्धनका लागि स्थानीयस्तरमै गोठ, होमस्टे र विश्रामस्थल निर्माण गरिरहेका छन्। पदमार्गमा अहिले आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो बढ्दो क्रममा छ, जसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न थालेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

‘मुन्धुम पदमार्ग’ केवल पदयात्रा मार्ग मात्र नभई किराँती सभ्यता, इतिहास र संस्कृति बुझ्ने जीवित संग्रहालय पनि हो। यहाँका डाँडाकाँडा, पोखरी, वन्यजन्तु, जैविक विविधता र हरियाली दृश्यले हरेक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ।

पर्यटन व्यवसायीहरूको भनाइमा, आगामी वर्षहरूमा यो पदमार्ग नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख ट्रेकिङ र सांस्कृतिक अध्ययन केन्द्र बन्ने सम्भावना देखिएको छ।

यसरी, प्रकृति, संस्कृति र साहसिक यात्राको अद्भुत संगम भएको ‘मुन्धुम पदमार्ग’ आज पूर्वी नेपालको गौरवपूर्ण पर्यटकीय पहिचान बन्दै गएको छ।