भोजपुर | आगामी मङ्सिर महिनामा भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गत कोप्चेबाट तावाभञ्याङसम्म ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस–२०८२’ सञ्चालन हुने भएको छ। करिब ६० किलोमिटर दूरी समेट्ने यस ट्रेल रेसको उद्देश्य पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटनको प्रवर्द्धन गर्नु रहेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त रूपमा मङ्सिर २० देखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेका हुन्।
भोजपुरको सबैभन्दा होचो स्थान (१५३ मिटर) माइबेनी कोप्चेबाट सुरु हुने यो रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्याङ–कपासे–सेल्मे–पाँचधारे हुँदै तावाभञ्याङसम्म पुग्नेछ।
मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाका अनुसार, प्रतियोगिता ‘भ्रमण वर्ष २०२५’ लाई लक्षित गरी आयोजना गरिएको हो। तीनै गाउँपालिकाबीच विस्तृत कार्ययोजना तयार गरी प्रतियोगिता प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न तयारी भइरहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।
सामुदायिक तथा साहसिक पर्यटनको विकाससँगै स्थानीय संस्कृति, परम्परा, परिकार र पहिचानलाई देश–विदेशमा चिनाउने अवसर यस कार्यक्रमले प्रदान गर्ने आमचोक गाउँपालिका अध्यक्ष अशोक राईको भनाइ छ।
प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले पाँच–पाँच लाख रुपैयाँका दरले जम्मा रु. १५ लाख बजेट विनियोजन गरेका छन्।
रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमीका अध्यक्ष पावीहाङ राईका अनुसार, प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरू सहभागी हुनेछन्। कुल १०० जना धावक सहभागी गराउने लक्ष्य राखिएको छ।




















