भोजपुर । ग्रेटर मुन्दुम ट्रेल अन्तर्गतको लोअर मुन्दुम ट्रेल (Lower Mundum Trail) को स्थलगत अध्ययन तथा exploration कार्य सम्पन्न भएको छ। यो अध्ययन कार्य असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (MTSSTPC) को नेतृत्वमा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष रमेश राईको नेतृत्वमा कार्यसमिति सदस्य वीरबहादुर राई, साल्पा पोखरी विकास समितिका अध्यक्ष वीरकुमार राई, युट्युबर तथा ब्लगर करिना राई र पवन राई सहितको टोलीले स्थलगत अध्ययन गरेको थियो। टोलीले ट्रेकिङ म्याप निर्माणका लागि जीपीएस (GPS) प्रविधिबाट डाटा संकलन गरेको र पदमार्गमा पर्ने विभिन्न पर्यटकीय आकर्षणहरूको फोटो, भिडियो र सूचनात्मक विवरण संकलन गरेको जनाइएको छ।
ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ :-
१) अपर मुन्दुम ट्रेल (छेस्काम–एभरेष्ट बेस क्याम्प),
२) मुन्दुम ट्रेल (तावा भञ्ज्याङ–साल्पा सिलिचुङ–बुङ), र
३) लोअर मुन्दुम ट्रेल (चतरा–तावा भञ्ज्याङ)।
यीमध्ये तल्लो खण्ड (लोअर मुन्दुम ट्रेल) साँच्चिकै अमूर्त सांस्कृतिक गन्तव्य (Intangible Cultural Destination) का रूपमा रहेको बताइएको छ। यस क्षेत्रका आदिम किराती सभ्यता, संस्कृति र इतिहास अझै जीवन्त छन्।
तल्लो मुन्दुम ट्रेल सप्तकोशीको चतरादेखि सुरु भई ऐतिहासिक बाटो अक्करको भिर, खुवालुङ उपत्यका, हतुवागढी, गोलमे पहरा, नागछाँगा, पामाखाम गढी, हाबीराङ डाँडा, कपासे भञ्ज्याङ, सेल्मे डाँडा, हुँदै तावा भञ्ज्याङ सम्म पुग्ने गरी तय गरिएको छ।
यो पदमार्ग ७ देखि १० दिनको अवधिमा सहज रूपमा यात्रा गर्न सकिने बताइएको छ। यात्राका क्रममा बराहक्षेत्र, कोशी टापु बन्यजन्तु आरक्षण, बेलका तरिखा (प्राचीन किराती राजधानी), हिन्दुहाङ राजाको दरबार, ठिङ्गुहाङमा, खुवालुङ, चौडण्डीगढी, नागछाँगा, पामाखाम गढी, टेम्के, तावा लगायतका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थलहरू अवलोकन गर्न सकिन्छ।
मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश कुमार राईका अनुसार “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५” को सन्दर्भमा, स्विस सरकार, प्रदेश सरकार, संघीय तथा स्थानीय सरकारको साझेदारीमा ग्रेटर मुन्दुम ट्रेलको स्तरोन्नति भइरहेको छ। उनका अनुसार पदयात्रा गर्न चाहने पर्यटक तथा ट्राभल कम्पनीहरूका लागि आवश्यक पर्ने ट्रेकिङ म्याप र इटिनररी निर्माण कार्य संस्थाको पहलमा अघि बढाइएको हो।
यसअघि २०२५ अप्रिल २४ देखि मे १५ सम्म अपर मुन्दुम ट्रेल (छेस्कामदेखि एभरेष्ट बेस क्याम्पसम्म) को एक्सप्लोरेसन सम्पन्न भइसकेको छ। अब समुद्री सतहको करिब ८० मिटर उचाइमा रहेको सप्तकोशी–कोशी टापु देखि ८८४८ मिटर उचाइको सगरमाथा सम्म फैलिएको ग्रेटर मुन्दुम ट्रेलको पूर्ण Trekking Map र Itinerary चाँडै सार्वजनिक गरिने तयारी भइरहेको संस्थाले जनाएको छ।
अध्यक्ष राईका अनुसार, “यो पदमार्ग सांस्कृतिक, जैविक, प्राकृतिक र साहसिक पर्यटनको अद्वितीय नमूना बन्नेछ। यसले नेपालको पर्यटनको मेरुदण्डको रूपमा विकासमा ठूलो योगदान पुर्याउनेछ।”




















