पोखरा । गत असोज महिनामा मात्र ३० हजार ५४७ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार तीमध्ये दक्षिण एशियाली मुलुकका १० हजार १९ जना र अन्य मुलुकका २० हजार ५२८ जना पर्यटक रहेका छन्।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत वर्षको असोज महिनाको तुलनामा यस वर्ष १८५ पर्यटकले कम भ्रमण गरेका छन्। उनले भदौ महिनामा भएको ‘जेनजी’ आन्दोलन र मौसमजन्य अवरोधका कारण विशेषगरी भारतीय पर्यटकको आगमन घटेको बताए।
डा. कडरियाले भने, “आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ७०५ र चालु आर्थिक वर्ष २०८१/८२ को असोज महिनामा ३० हजार ७३२ जना पर्यटक यस क्षेत्रमा आएका छन्। असोज र कात्तिक महिना अन्नपूर्ण क्षेत्रका मुख्य पर्यटन याम हुन्, त्यसैले कात्तिकमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।”
तिहार पर्वलगत्तै मुस्ताङ र वरपरका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल पनि बढेको आयोजनाले जनाएको छ। गत कात्तिक महिनामा ३३ हजार ३१० जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेको तथ्यांकसमेत आयोजनाले सार्वजनिक गरेको छ।
आयोजना प्रमुखका अनुसार अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्ने विदेशी पर्यटकको मात्र तथ्यांक राखिने भए पनि, सडक मार्ग हुँदै आन्तरिक पर्यटकको पनि उल्लेख्य संख्या प्रवेश गर्ने गरेका छन्। मुख्य चाडपर्व र बिदाका समय पर्यटक आवागमन थप बढ्ने उल्लेख गरिएको छ।
हाल अन्नपूर्ण क्षेत्रका अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, घोरेपानी र पुनहिल लगायतका गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भीड देखिएको छ।
डा. कडरियाका अनुसार वर्षात् र जाडो याममा पदयात्रीको संख्या घट्ने भए पनि अन्य समय विदेशी र आन्तरिक पर्यटकको आगमन बढ्ने गर्दछ। मुक्तिनाथसहितका धार्मिक गन्तव्यमा भारतीय पर्यटक प्रायः सडकमार्गबाट पुग्ने गरे पनि अन्य मुलुकका पर्यटक भने पदयात्रा नै रोज्ने गर्छन्।
७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहका ८७ वडा समेटिएको छ। यो क्षेत्र विश्वप्रसिद्ध पदयात्रा पर्यटन गन्तव्यका रूपमा परिचित छ।




















