सन्जिप तिम्सिना 

भोजपुर | पूर्वी नेपालको चार जिल्लाहरू — भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बुलाई ओगट्ने प्रसिद्ध ‘मुन्धुम पदमार्ग’ पछिल्लो समय देशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र किराँती समुदायको मौलिक परम्परामा आधारित यस पदमार्गले नेपालकै एक अद्वितीय पदयात्रा अनुभव प्रदान गर्ने सम्भावना बोकेको छ।

यो पदमार्ग भोजपुरको टेम्केमैयुङ गाउँपालिकाबाट सुरु भएर साल्पासिलिछो गाउँपालिकाको सिलिचुङ डाँडासम्म पुग्छ। यसको कुल लम्बाइ करिब १५३ किलोमिटर रहेको छ। यात्राका क्रममा पर्यटकले टेम्के डाँडाबाट देखिने मनोरम हिमालय श्रृंखला, हाँस पोखरी, साल्पा पोखरी, र सिलिचुङ डाँडा लगायत दर्जनौं आकर्षक स्थलहरू अवलोकन गर्न सक्छन्। पदमार्गमा मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कृति र इतिहाससँग सम्बन्धित स्थलहरू, स्थानीय कला, परम्परा र रीतिरिवाजको गहिरो अध्ययन गर्न सकिने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनु भयो ।

यस पदमार्गमा पाइने रैथाने ज्ञान, जीवनशैली र स्थानीय सीपहरूका कारण यसलाई ‘खुला विश्वविद्यालय’ का रूपमा पनि चिनिन्छ। यात्रुहरू यहाँका स्थानीय बाली— कोदो, फापर, गहुँ, आलु, रायो, सिमी लगायत कृषिजन्य उत्पादन र गोठवालाद्वारा तयार गरिने चौँरीको दूध, लोकल कुखुरा, ढिँडो लगायतका स्वादिष्ट परिकारको स्वाद लिन सक्ने गर्छन्।1753606971180

खोटाङको सोकला गाउँपालिकाको तावाभन्ज्याङ बाट सुरु हुने यो पदमार्ग भोजपुरको टेम्केडाँडा, चखेवाभन्ज्याङ, धेदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरी, मैयुङ, एकरोत र बाघखोर हुँदै भोजपुर टक्सार विमानस्थल सम्म पुग्छ। सम्पूर्ण पदयात्रा पूरा गर्न नेपाली यात्रुहरूलाई औसत पाँचदेखि नौ दिन, र विदेशी पर्यटकहरूलाई १० देखि २० दिन समय लाग्ने बताइन्छ। छोटो दूरीको यात्रा भने तीनदेखि पाँच दिनमै पूरा गर्न सकिन्छ।

पदमार्गमा हाल आवास, खानेपानी र होमस्टे सेवा विस्तार हुँदै गएको छ। विभिन्न गाउँपालिकाहरूले सामुदायिक पर्यटन प्रवर्द्धनका लागि स्थानीयस्तरमै गोठ, होमस्टे र विश्रामस्थल निर्माण गरिरहेका छन्। पदमार्गमा अहिले आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो बढ्दो क्रममा छ, जसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न थालेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।1755622502128

‘मुन्धुम पदमार्ग’ केवल पदयात्रा मार्ग मात्र नभई किराँती सभ्यता, इतिहास र संस्कृति बुझ्ने जीवित संग्रहालय पनि हो। यहाँका डाँडाकाँडा, पोखरी, वन्यजन्तु, जैविक विविधता र हरियाली दृश्यले हरेक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ।

पर्यटन व्यवसायीहरूको भनाइमा, आगामी वर्षहरूमा यो पदमार्ग नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख ट्रेकिङ र सांस्कृतिक अध्ययन केन्द्र बन्ने सम्भावना देखिएको छ।

यसरी, प्रकृति, संस्कृति र साहसिक यात्राको अद्भुत संगम भएको ‘मुन्धुम पदमार्ग’ आज पूर्वी नेपालको गौरवपूर्ण पर्यटकीय पहिचान बन्दै गएको छ।17530305099501753190365255