सन्जिप तिम्सिना 

इटहरी । हालैको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न ठाउँमा भएको विरोध, बन्द र तोडफोडका घटनाले पर्यटन तथा होटल व्यवसायमा प्रत्यक्ष असर पारेको छ । विशेषगरी सुनसरी, मोरङ, धरान–इटहरी क्षेत्रका होटल व्यवसायीहरू भन्छन्— आन्दोलन सुरु भएपछि दैनिक आउने पाहुनाको संख्या आधा भन्दा बढी घटेको छ ।

होटल व्यवसायीहरूको भनाइमा आन्दोलनका कारण आवागमन प्रभावित हुँदा पर्यटक, व्यापारिक यात्री र भोजभतेरका कार्यक्रमहरू स्थगित भएका छन् । यसले लामो समयदेखि सामान्य गतिमा फर्कँदै गरेको होटल क्षेत्र पुनः संकटमा परेको देखिन्छ।

इटहरीका होटल व्यवसायी गोपाल गिरि अनुसार, “अघिल्ला हप्ता तिहार नजिकिँदै गर्दा होटलमा बुकिङ राम्रो थियो, तर आन्दोलनपछि सबै रद्द भए।” उनले थपे, “हामीले लगानी तिरेर कर्मचारी राखेका छौँ, तर ग्राहक नहुँदा घाटा बेहोरिरहेका छौँ।”

धरान र इटहरीका होटेल संघहरूले समेत स्थानीय प्रशासनसँग वार्ता गरी सुरक्षाको सुनिश्चितता र शान्त वातावरण कायम गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार, यस्ता राजनीतिक आन्दोलन र हिंसात्मक गतिविधिले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतका क्षेत्रमा दीर्घकालीन असर पार्ने सम्भावना छ।

पर्यटन व्यवसायीहरूले सरकारले स्थिति नियन्त्रणमा ल्याई व्यवसाय पुनः सुचारु गर्न सहयोग गर्नुपर्ने माग गरेका छन्।