बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका–४, पुलहा | बराहक्षेत्र–४ मा रहेको पुलहा बृज हालसालै रंगरोगन र सजावट भएपछि नयाँ रूप लिएको छ। ‘द पुलहा युथ क्लब’को पहलमा गरिएको यस कार्यले स्थानीय क्षेत्रको मुहार नै फेरिदिएको छ।
यो पुल धरान, कालाबञ्जार, चक्रघट्टी, मैनबारी र रामधुनी जस्ता क्षेत्रमा आवतजावत गर्ने यात्रुहरूको लागि महत्वपूर्ण कडीको रूपमा रहेको छ। अहिले पुल रंगीन रूपमा सजिएपछि आगन्तुकहरू तस्बिर खिच्न र घुम्न विशेष रूपमा आउन थालेका छन्।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमाथि बनेको पुलहामा दुवैतर्फ रेलिङमा रंगरोगन गरिएको छ भने ८ थान राष्ट्रिय झण्डा र विभिन्न प्रजातिका फूलका गमलाले आकर्षक सजावट थपिएको छ।
‘द पुलहा युथ क्लब’का अध्यक्ष दिवान सिंह राईका अनुसार, "यो पुललाई रंगरोगन गरेर सुन्दर बनाउन हामीले परिकल्पना गरेका थियौं, अहिले पुल सजिएर आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको छ," भन्ने विचार व्यक्त गरे।
उनका अनुसार भविष्यमा पुल वरपरका क्षेत्रमा आन्तरिक पर्यटन प्रोत्साहन गर्ने उद्देश्यले साइक्लिङ रोप–वे, नहरमा स–साना पानीबोटमार्फत जलयात्रा, साथै बराहक्षेत्र–३ र ७ को बत्तिस आर.डी.देखि बराहक्षेत्र–४ पिडारीसम्म पदमार्ग तथा साइक्लिङ ट्र्याक निर्माण गर्ने योजनासमेत रहेको छ।
यससँगै स्थानीय युवाहरू निरन्तर गाउँलाई सुन्दर र सभ्य बनाउन अभियानमा सक्रिय भइरहेका छन्। हालसालै थलाहा पुल, बत्तिस आर.डी. पुल र झनझनपुरको पुलमा पनि यस्तै रंगरोगन अभियान चलाइएकाले समन्वय गर्दै यस कार्यलाई निरन्तरता दिइएको क्लबले जनाएको छ।




















