काठमाडौँ | सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ।
पर्यटन विभागका अनुसार सरकारले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागू गरेको १५ दिनमै विगतका वर्षको तुलनामा दस्तुर दोब्बरले बढेको हो।
विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “गत भदौ १६ गतेदेखि हिमालको उचाइअनुसार पर्वतारोहण शुल्क परिमार्जन गरिएको हो। ऋतुअनुसार शुल्क बढे पनि जारी शरद् ऋतुमा आरोही संख्या र दस्तुर दुवैमा उल्लेख्य वृद्धि भएको छ।”
सन् २०२४ को शरद् ऋतुमा १५८ समूहका १,२८० जनाले अनुमति लिई ७ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसअघि सन् २०२३ मा १७० समूहका १,३२६ आरोहीले जम्मा ७ लाख ८१ हजार रुपैयाँ मात्र बुझाएका थिए।
यस वर्ष भने ४९ समूहबाट हालसम्म १६ करोड रुपैयाँभन्दा बढी सलामी दस्तुर उठिसकेको विभागले जनाएको छ। सन् २०२५ को शरद् ऋतुमा हालसम्म ३९२ पुरुष र १११ महिला गरी ४६३ जनाले आरोहण अनुमति लिएका छन्। तीबाट १६ करोड ८७ लाख ४६ हजार ७६५ रुपैयाँ सरकारी कोषमा दाखिला भएको छ।
शरद् ऋतुमा मनासलु आरोहणमा बढी आकर्षण देखिएको छ। मनासलु आरोहणका लागि मात्र यस याममा ३७४ जनाले अनुमति लिएका छन्।




















