काठमाडौँ | हालैको जेनजी आन्दोलन ले देशको भौतिक संरचना, होटल तथा पर्यटकीय पूर्वाधारमा ठूलो क्षति पुर्‍याए पनि पर्यटन क्षेत्रमा पुनः उत्थान हुने आशा पलाएको छ । आन्दोलनका क्रममा मात्र करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन बोर्डका तथ्याङ्कअनुसार काठमाडौं, पोखरा, बुटवल, विराटनगर, भैरहवा, दाङ, महोत्तरीलगायत क्षेत्रमा रहेका ३० भन्दा बढी होटल, रेस्टुरेन्ट, केबुलकार र एभिएसन प्रभावित भएका छन् । काठमाडौंको हिल्टन होटलमा मात्रै करिब आठ अर्ब रुपैयाँको क्षति भएको अनुमान छ । यसबाट करिब दुई हजार पाँच सय जना बेरोजगार हुने अवस्था आएको छ ।

यद्यपि पर्यटन व्यवसायीहरू निराश नभई आशावादी देखिएका छन् । नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल, नाट्टा, टान, पाटा नेपाल च्याप्टर, नारा लगायत संस्थाहरू पुनरुत्थानका लागि सक्रिय बनेका छन् । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रसँगको सहकार्यमा नीतिगत सुधार र प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित रहेको सन्देश विश्वभर पुर्‍याउन पहल भइरहेको बताए ।

पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले विगतका विपद् (भूकम्प, नाकाबन्दी, कोरोना महामारी) का क्रममा पनि नेपालले पर्यटनलाई पुनर्जीवित गरेको अनुभव सुनाउँदै यसपटक पनि छिट्टै पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे । श्रीलङ्काले संकटपछि पर्यटनलाई चाँडै उठाएको उदाहरणलाई नेपालले सिक्ने जोशीको भनाइ छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल पर्यटकका लागि पूर्ण सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सरकार र निजी क्षेत्र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । पाटा नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले विदेशस्थित नेपाली दूतावासहरूसँग समन्वय गरी नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्नुपर्ने बताए ।

बोर्डका तथ्याङ्कअनुसार सन् २०२५ सेप्टेम्बर १५ सम्म ३३ हजार ६३८ पर्यटक नेपाल आएका छन् । २०२४ मा ११ लाख ४७ हजार ५४८ र २०२३ मा १० लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक आगमन भएको थियो, जुन हालसम्मकै उच्च हो ।

पर्यटन व्यवसायीहरूले अबका दिनमा दिगो पर्यटन, प्रविधिमैत्री सेवा र समृद्धिसँग जोडिएको सुरक्षित नेपाल गन्तव्यको सन्देश फैलाउन सके पर्यटन छिट्टै गतिमा आउने विश्वास व्यक्त गरेका छन् ।