नेपाल भगवान गौतम बुद्धको जन्म भएको देश । नेपाल नेपाली वायुसेवामा सबैभन्दा प्रभावशाली बुद्ध एयर भएको देश पनि हो । जसरी गौतम बुद्धका पाइला नेपालदेखि भारतसम्म पुगे । ठीक त्यसैगरि बुद्ध एयरको उडान पनि नेपालको आन्तरिक उडान मात्रै नभएर भारतका बिभिन्न सहरहरुमा पनि भयो । बुद्ध भगवान जस्तै देवतुल्य भनेर यहाँ बुद्ध एयरको तारिफ गरिएको होइन । यसो प्रसंग मिलाएर कुरा गरेको मात्रै हो । आउनु होस् आज म बुद्ध एयरको इतिहासको चर्चा गर्छु । बुद्ध एयर कसरी सुरु भयो भन्ने कुरा गर्छु । बुद्ध एयरको सुखदुःखका सवालको चर्चा गर्छु । बुद्ध एयरको टर्निङ प्वाइन्ट कताबाट सुरु भयो त भन्नेबारेमा चर्चा गर्छु । यहि चर्चा गर्नकै लागि त मैले विराटनगर देखि काठमाडौँ सम्मको यात्रामा अरु विमान नचढेर बुद्ध एयर नै चढेँ ।
सन १९९७ सालमा नेपालमा दुई हवाई सेवा प्रदायक कम्पनीहरु खडा भए । सो वर्षको अप्रिलमा लुम्बिनि एयरवेज सुरु भयो भने अक्टोबरमा बुद्ध एयर । आज लुम्बिनि एयरको कुनै नामोनिसाना छैन । तर बुद्ध एयरको ब्राण्ड, नाम र काममा बलियोपना देखिन्छ ।
नेपालको हवाई बजारमा ६० प्रतिसत सेयर बुद्धको छ भनिन्छ । यसो भन्नुको अर्थ हो नेपालका हरेक १०० जना हवाइ यात्रुहरुमा ६० जनालाई उडाउने बुद्ध एयर नै हो । बुद्धको प्रभाव नेपाली आकासमा कस्तो छ भन्ने एक गतिलो उदाहरण यो आफैँ हो । आउनुहोस् अब कुरा गरौँ बुद्ध एयरको सात सेझेट्सको बारेमाः
सेक्रेट नम्बर १ः हेलिकप्टर कम्पनीबाट सुरु भएको बुद्ध एयर सपना
खास बुद्ध एयरको बिउ हेलिकप्टर कम्पनी हो । बुद्ध एयरका संस्थापक बीरेन्द्र बहादुर बस्नेतले बुद्ध एयरबाट प्रकाशन गरेको पुस्तक छ बुद्ध बाइ दि बुक । यसको अर्थ हो नियमसम्मत । सो पुस्तकमा भनिए अनुसार बीरेन्द्रका भाई हुन शिवेन्द्र । उनी युक्रेन गएर एक वर्षको हेलिकप्टर पाइलटको तालिम लिएर आए । उनी नेपालमा आएर एसियन हेलिकप्टर्समा जागिरे भए । पछि शिवेन्द्र केहि झापाली मित्रहरु मिलेर ८ लाखका दरले तीन पक्षबाट २४ लाख रुपैयाँ भेला गरियो । जसमा तीन भागको एक भाग सेयर बस्नेत परिवारको, अर्को श्रवण गोयल परिवारको र अर्को वीरेन्द्र वैद्य परिवारको । एआई–१७ ब्राण्डको सोभियत हेलिप्टर खोल्ने कुरा भयो । रुस भ्रमण पनि भयो । तर सबै पैशा भ्रमणमा सकियो । हेलिकप्टर आएन । हेलिकप्टर ल्याएर हिमाली उडान र अरु आम्दानी गर्ने सपना तुहियो । बस्नेत परिवारको दुई कट्ठा जग्गा बेचेर तयार गरिएको लगानी डुब्यो । तर बुद्धको बिजारोपण चै भयो ।
सेक्रेट नम्बर २ः पाइलट भिनाजुको सल्लाहले ठूलो जहाजमा चासो
हेलिकप्टरमा गरिएको लगानी खेर गएसँगै अब ठूलो जहाज खरिद गर्ने कुरा आयो । त्यो कुरा पनि बस्नेत परिवारका भिनाजु फिजोनाथबाट आयो । फिजोनाथ तत्कालिन शाहि नेपाली वायुसेवा निगममा पाइलट थिए । उनको कुरालाई बस्नेत परिवारले ध्यान दियो । १८ सिट क्षमताको बिचक्र्याफ्ट १९०० डी ल्याउने हो भने सहज लगानी पनि जुटाउन सकिने प्रेरणा भिनाजुकै थियो । पाइलट भाइसँगको सवालमा हेलिकप्टर क्षेत्रमा राम्रो सुरुवात नभएता पनि पाइलट भेनाको सल्लाहको सवालमा भने सफलताका संकेत मिल्यो ।
सेक्रेट नम्बर ३ः संचयकोषबाट लगानी गर्ने योजना भताभुंग
अहिले ठमेलमा जाँदा कर्मचारी संचयकोषको भवन देखिन्छ नि त्यहि संचय कोषबाट लगानी गरेर जहाजमा लगाउने बस्नेतको सपना थियो । सपना देखाएका थिए त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक आरडी सिंहले र सहयोगको कुरा आएको थियो संचय कोषका प्रमुख प्रशासक सन्चारभक्त श्रेष्ठको । तर दुई जहाज ल्याउन ६ करोडको ऋण लिने कुरा सजिलो भएन । संचय कोषले कुनै सरकारी बैंकसँग वित्तिय सहजिकरण गरेर मात्रै गर्ने भन्दाभन्दै त्यो सहज भएन ।
सेक्रेट नम्बर ४ः प्रधानमन्त्रीको सोर्स लाएर मात्रै ऋण प्राप्त
तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । आफन्त पर्ने थापा प्रधानमन्त्री र प्रधानमन्त्रीका स्वविय सचिव नरेन्द्र कटुवाल पनि आफन्त । यि संयोगले सहज भयो । सरकारी बैंकले होइन श्रीलंकाकाली बैंकाको नेपालमा खुलेको शाखाले सहयोग गर्यो । नेपाल बैंक अफ सिलोनले १३ लाख रुपैयाँ सम्भाव्य अध्ययनको लागि कटाएर ऋण दिन तयार भयो । ऋण पाइयो । तत्कालिन समयमा नेपाल बैंक अफ सिलोनका प्रबन्ध निर्देशक जयसूर्या थिए भने केन्द्रीय कार्यालय भैरहवामा थियो ।
सेक्रेट नम्बर ५ः नीजि घर बैंकमा राखेर ऋण झिकिदिने मनकारी साथी
बुद्ध एयरको प्रारम्भिक अर्थ व्यवस्थापनको लागि सुलभ पन्त प्रमुख हुन् । उनले तत्कालिन नेपाल मर्चेन्ट बैंक जुन अहिले एनएमबी बैंकको रुपमा चिनिन्छ त्याहाँ आफ्नो जावाल घर राखेर ७० लाख ऋण लिए । र दिए बुद्ध एयरलाई । अर्का एक साथीले भने ३६ प्रतिसतमा ३५ लाख रुपैयाँ ऋण दिए । दुई फरकखाले साथीहरुको दुई चत्रित्र पनि बुद्ध एयरको इतिहासमा देखिन्छ ।
सेक्रेट नम्बर ६ः कमाउन सुरु भएपछि मात्रै तलब खानेगरि जोडिएका कानुनी सल्लाहकार
बुद्ध एयरका प्रारम्भिक दिनहरुमा कानुनी सल्लाहकार थिए रामकृष्ण निरौला । उनी एक सर्तमा बसे । त्यो सर्त थियो कमाई सुरु भएपछि मात्रै तलब लिने ।
सेक्रेट नम्बर ७ः बुद्धको त्यो पहिलो जहाजको आगमन र त्यो पहिलो हिमाली उडान
बुद्ध एयरको पहिलो जहाज खरिद गरेर काठमाडौँ ल्याएको दिन थियो सन १९९७ अक्टोबर ५ अर्थात् २०५४ असोज १९ । त्यो जहाजको अवतरण हेर्न बीरेन्द्र बहादुर बस्नेत मीनभवनबाट वानेश्वरमा मारुती–८०० बाटा यात्रा गरेर देखेका थिए । यसबारेमा बस्नेतले आफ्नो आत्मकथामा तत्कालिन खुशी सम्झना गर्दै भनेका छन्, ‘म आह्लादित भएँ । भावुक बनेँ । युफोरिकग्रस्त भएँ । एकैछिन शून्यमा पुगे जस्तो भयो । प्राणीको मन चरम प्रसन्ननावस्थमा त्यस्तै हुन्छ होला । आफ्नै जहाज ल्याउने सपना साकार हुँदा मभित्र एकै पटक कयौँ संवेदना प्रकट भए । त्यसले मलाई गाडीबाट झरेर त्यहीँ नाँचौ जस्तो बनायो ।’
बस्नेतले त्यो जहाज आएको क्षणको उत्साबारेमा थप भन्छन्, ‘विमानस्थलमा नयाँ जहाजलाई स्वागत गर्न हाम्रा २ जना जति कर्मचारी पुगिसकेका थिए । आफ्नै जहाज देखेपछि त्यसैलाई अँगालेर बसिरहूँ जस्तो लाग्यो ।’
बुद्धको पहिलो जहाज नेपाल आएको ठीक एकै हप्ता भित्र पहिलो हिमाली उडान अर्थात् माउन्टेन फ्लाइट भयो । सन १९९७ अक्टोबर ११ अर्थात् २०५४ असोज २५ गते पहिलो उडान भएको थियो । बिचक्राफ्ट १९०० डी बाट १६ जना विदेशीहरुलाई उडाइएको थियो । पाइलट एक नेपाली र एक अमेरिकी थिए । नेपाली पाइलटको नाम आरके शर्मा थियो भने अमेरिकीको नाम केभिन सेन्ट थियो ।
पहिलो जहाज आएको तीन महिनापछि सन १९९८ जनवरी २५ अर्थात् २०५४ माघ १२ मा दोस्रो जहाज आयो । हाल बुद्धसँग १८ जहाज छन् । पहिलेपहिले काठमाडौँ पोखरा र हिमाली उडान गर्ने बुद्धले अहिले देशका दर्जनौँ गन्तव्यमा उडान भर्छ । बुद्धले खासगरि कोशी बाढीबाट व्यवशायमा फड्को मारेको हो । कोभिड उडानमा पनि निरन्तरता दिएर विश्वास जितेको हो । उसो त पांग्रा बिनै उडाएका किस्सा पनि छन् । तर बुद्धको यो कमजोरी भन्दा माथि चर्चा गरिएका सबल पक्ष धेरै छन् ।




















