भोजपुर | किरात संस्कृतिको संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारकसहितको आकर्षक उद्यान निर्माण गरिएको छ ।

गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्मारक उद्यान बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्क क्षेत्रको चारै तर्फ घेराबार, किरात राई समुदायको आस्थाको प्रतीक दिमालुङ ढुङ्गाको संरक्षणसहित अन्य आवश्यक संरचना निर्माण गरिएका छन्।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार ‘जोर आहाल, शङ्मचुली, दिमालुङ’ पदमार्गको अन्तिम विन्दुमा पर्ने भएकाले यस क्षेत्रलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण मानिएको छ। “किरात संस्कृति झल्किने संरचना, दिमालुङको ऐतिहासिक महत्त्व र वार्षिक साकेन्वा नाचजस्ता सांस्कृतिक कार्यक्रमले यहाँको पर्यटकीय आकर्षण थप्नेछ,” उहाँले बताउनुभयो।

करीब चार रोपनी क्षेत्रफलमा फैलिएको स्मारक परिसरसँगै झण्डै १५ रोपनी क्षेत्रफलमा हरियाली उद्यान बनाइएको हो। पार्कभित्र विश्रामस्थल, पदमार्ग, र किरात परम्परासँग जोडिएका मूर्तिहरू राखिएको अध्यक्ष राईको भनाइ छ।

हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले यस्तो योजनाबद्ध विकासले ऐतिहासिक क्षेत्रको संरक्षणसँगै स्थानीय आर्थिक स्रोत विस्तारमा पनि सहयोग पुग्ने बताउनुभयो। "गाउँपालिकाको आय आर्जनमा यस्ता पर्यटकीय गन्तव्यले ठूलो भूमिका खेल्न सक्छ," उहाँले भन्नुभयो।

स्मारक र उद्यान निर्माणपछि स्थानीयवासी पनि निकै उत्साहित भएका छन्। उनीहरूका अनुसार संरक्षण र प्रवर्द्धनले हतुवागढी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ।