मोरङ | लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको सिमानामा अवस्थित प्राकृतिक सुन्दरता समेटिएको कुलुङ झरनामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। गर्मीको मौसमसँगै झरनाको ठण्डा पानी र रमणीय वातावरणमा रमाउन पर्यटकहरू त्यहाँ पुग्न थालेका छन्।
यसै सन्दर्भमा लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावतीको नेतृत्वमा लालझोडा, होक्से र भालुखोप क्षेत्रका स्थानीयवासीहरूको सहभागितामा झरनासम्म पुग्ने बाटोको स्थलगत अनुगमन गरिएको हो। लेटाङ बजारबाट करिब ३५ मिनेटको यात्रा तय गरेपछि पुगिने झरना अझै सहज रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले बाटो विस्तार तथा सुधारको काम अघि बढाइएको जनाइएको छ।
नगर प्रमुख लावतीले झरना क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्धनका लागि नगरपालिकाले हालसम्म ४ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो। उहाँले झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै स्थानीय रोजगारी सृजना तथा आर्थिक गतिविधिमा टेवा पुर्याउने लक्ष्य रहेको समेत बताउनुभयो।
स्थानीय बासिन्दाहरूले बाटो निर्माण तथा सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सहज पहुँच र प्रचारप्रसारले कुलुङ झरनामा पर्यटकको संख्या झनै बढ्ने र यसले समग्र क्षेत्रको पर्यटकीय विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।




















