भोजपुर | मुन्दुम पदमार्गमा निर्माण सम्पन्न भएका संरचनाहरूको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
विगत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ९० लाख रुपैयाँको लागतमा सम्पन्न भएका संरचनाहरूको सार्वजनिक रूपमा विवरण प्रस्तुत गरिएको हो। टेम्केमैयुङ खण्डमा निर्माण गरिएका सम्पूर्ण संरचनाहरू — स्थानीय बस्तुकलामा आधारित विश्रामस्थल, सूचना बोर्ड, खानेपानीका धारा, ३ वटा सौचालय, डस्टबिन, सिँढी र अन्य पूर्वाधारहरूको विवरण सुनुवाइमा प्रस्तुत गरिएको थियो।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। निर्माण कार्य अझ व्यवस्थित र पर्यटकमैत्री बनाउन बजेट केन्द्रित गरिने बताइएको छ।आगामी वर्षमा पदमार्गमा होमस्टे निर्माण गर्ने उहाँको भनाइ छ ।
त्यस्तै, पर्यटकहरूलाई मार्गनिर्देशन तथा आवश्यक जानकारी उपलब्ध गराउनका लागि चखेवामा निर्माण भइरहेको पर्यटन सूचना केन्द्रको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाकी उपाध्यक्ष रमा देवी राईले जानकारी दिनुभयो। सूचना केन्द्रमार्फत पदयात्रीहरूलाई विविध सेवा सुविधा प्रदान गरिनेछ।
मुन्दुम पदमार्ग उपभोक्ता समिति अध्यक्ष रोहिम राईले सार्वजनिक सुनुवाइमा उपस्थित जनसमुदायलाई कार्य सम्पन्न विवरण प्रस्तुत गर्दै आगामी योजनाका विषयमा जानकारी गराउनुभयो। सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कर्मचारी तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति थियो।
मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र प्रवर्द्धन गर्न सन् २०२५ लाई "मुन्दुम ट्रेल भ्रमण वर्ष" घोषणा गरिएको छ। यस अभियान अन्तर्गत कम्तीमा १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से लगायतका छ वटा ८ हजार मिटर अग्ला हिमालहरूको दृश्यावलोकन गर्न सकिने यो पदमार्गले प्राकृतिक सौन्दर्यसँगै किराँत संस्कृति, धार्मिक सम्पदा र मौलिक जीवनशैलीको अनुभव प्रदान गर्छ।
यस क्षेत्रमा वर्षैभरि विभिन्न धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक मेला आयोजना हुने हुँदा पदयात्रासँगै सांस्कृतिक अन्वेषणका लागि पनि यो मार्ग विशेष मानिन्छ। २०७५ सालको कात्तिकमा नेपाल सरकारले घोषणा गरेका ‘नेपालका १०० पर्यटकीय गन्तव्यहरूमध्ये मुन्दुम पदमार्ग पनि एक हो।




















