लेटाङ । पूर्वी नेपालको मोरङ जिल्ला अन्तर्गत पर्ने लेटाङ नगरपालिकामा अवस्थित किसे झरना अहिले एक सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा उदाउँदैछ। हरियाली जंगल, चट्टानी संरचना र शीतल पानीले भरिपूर्ण यो झरनाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याउने क्षमता राख्दछ। किसे झरना लेटाङ नगरपालिका वडा नम्बर-१ मा अवस्थित छ। लेटाङ बजारबाट झण्डै ४५ मिनेट सवारी साधनको यात्रापछि केही समय पैदल हिँडेर झरना नजिक पुग्न सकिन्छ। 

कच्ची सडक साँघुरो र अव्यवस्थित भए पनि गन्तव्य पुगिसकेपछि देखिने दृश्य अत्यन्तै रमणीय र मनमोहक  छ। किसे झरनाबाट करिब ५० फिट उचाइबाट चट्टानी शिलामा ठोक्किँदै बग्ने पानीको आवाजनै यस ठाउँको मौलिक संगीत हो। झरना वरिपरि हरियालीले ढाकिएको छ । जसले गर्दा गर्मी मौसममा यहाँको चिसो हावा र पानीले यात्रुहरूलाई ताजगी प्रदान गर्दछ। स्थानीयहरू यो स्थानलाई “किसे झरना" भनेर चिन्ने गर्छन्।

गर्मी याममा विशेष गरी युवा पुस्ता, विद्यार्थीहरू र परिवार सहितका समूह झरना हेर्न र अध्यन अवलोकन गर्न पुग्ने गरेका छन्। यहाँ आउनु भनेको केवल झरना हेर्न मात्र होइन, प्राकृतिक वातावरणमा केही समय शान्त बस्न, पौडी खेल्न, फोटो खिच्न र जीवनको थकान बिर्सनु पनि हो।यस्तो मनमोहक गन्तव्य हुँदाहुँदै पनि किसे झरनाको प्रचारप्रसार अत्यन्त कम छ। सडक संजालको पहुँच स्थायी नहुदा बाह्य पर्यटकहरु कमै घुम्न आउँछन।

आन्तरिक पर्यटनको हिसाबले स्थानीयहरुको रोजाईमा पर्ने यो किसे झरनामा अहिले बन भोज खान घुम्न आउनेको निकै घुइँचो देखिन्छ। शौचालय, डस्टबिन, विश्रामस्थल जस्ता आधारभूत संरचनाको अभावमा ओझेल परेको किसे झरना हाल केही टिकटकर , यु ट्युबर र फेसबुक जस्ता सामाजिक संजाल प्रयोगकर्ताहरुले पोस्ट गरेको भिडियो सामाग्री हेरेर ईटहरी, बेलबारी, कानेपोखरी, उर्लाबारी, पथरी र बिराटनगरबाट पर्यटकहरु आउने गरेका छन।

लेटाङ नगरपालिकाले यस क्षेत्रको पूर्वाधार विकास र प्रचार प्रसार बढाए र सुरक्षाको उचित व्यवस्था गरे, किसे झरना मोरङको प्रमुख पर्यटनस्थल बन्न सक्ने बलियो सम्भावना रहेको स्थानीयहरु बताउछन । स्थानीय स्तरमा होमस्टे सेवा, वनभोज क्षेत्र, झरनासम्म पुग्ने ट्रेल र घुम्ती मार्गहरू निर्माण गर्न सके नगरपालिकाको आयश्रोतमा टेवा पुग्ने देखिन्छ । भने स्थानीय उत्पादनको बिक्रीवितरण र रोजगारीको सिर्जना हुने निश्चित छ।

किसे झरना लेटाङ क्षेत्रको एक अप्रयुक्त र प्राकृतिक सम्पदाले भरिएको पर्यटन स्थल हो। यसको संरक्षण, विकास र प्रवर्द्धनमार्फत यसले स्थानीयको आयआर्जन,रोजगारी, पर्यटन व्यवसाय र सो क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ। किसे जस्तै लेटाङ-८ र मिक्लाजुङ-५ को सिमामा रहेको "कोलुङ झरना पनि पुर्बधार बिकास र प्रचारप्रसारको कमिले ओझेलमा परेको छ।